• Menu

बौद्धिक सम्पत्ति दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनुपर्छ : अध्यक्ष ढकाल

नेपाल प्रफिट

२०८२ वैशाख १३, शनिबार १५:४२

बौद्धिक सम्पत्ति दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बौद्धिक सम्पत्ति दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनुपर्ने बताएका छन् ।

विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभाग तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रतिलिपि अधिकार राजिस्टारको कार्यालयले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।

बौद्धिक सम्पत्ति (आईपी) बारे पर्याप्त ज्ञानको अभावले पनि यसको संरक्षणमा चुनौती थपिने गरेको उनले उल्लेख गरे । अध्यक्ष ढकालले कतिपय ट्रेडमार्ककका विषयमा विवाद आउने गरेकाले यसको समाधानमा पनि जोड दिए । ट्रेडमार्क तथा पेटेन्टका विषयमा पर्ने उजुरी र यसको सुनुवाइको प्रक्रियालाई सरल, सहज र छिटोछरितो बनाउनुपर्ने उनले बताए ।

‘नेपालको कानुनले पनि बौद्धिक सम्पत्तिलाई कानुनमा सुरक्षित गरिएको छ । जसले पेटेन्ट, प्रतिलिपि अधिकार र ट्रेडमार्कहरूलाई सुरक्षित राख्न सहयोग गरेको छ । यस्ता कार्यक्रमले बौद्धिक सम्पत्तिका विषयमा जनचेतना अभिवृद्धिमा ठूलो सहयोग पुग्नेछ,’ उनले भने ।

गीत संगीत क्षेत्र मनोरञ्जन उद्योगका रुपमा विकास हुँदै आएको अवस्थामा सर्जकहरुले सिर्जनाको संरक्षण गर्न आवश्यक रहेको उनले बताए । विश्व बौद्धिक सम्पदा संगठन (वाइपो) ले पहिलो विश्व आईपी दिवस सन् २००१ मा मनाएको हो ।

वाइपोले हरेक वर्ष विभिन्न फरक-फरक नारा तय गरेर यो दिवस मनाउँदै आएको छ । यस वर्ष IP and music feel the beat of IP नारा तय गरेर विभिन्न औपचारिक कार्यक्रम गरी यो दिवस मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्