• Menu

कान्तिलोकपथमा १५ दिन सवारी आवागमन बन्द, स्तरोन्नतिको काम हुँदै

नेपाल प्रफिट

२०८२ वैशाख १३, शनिबार ११:२७

कान्तिलोकपथमा १५ दिन सवारी आवागमन बन्द, स्तरोन्नतिको काम हुँदै

मकवानपुर । हेटौंडा-काठमाडौं जोड्ने कान्तिलोक सडकखण्डमा वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म सवारीसाधनको आवागमन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरी सो सडकखण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन-बगुवा खण्डमा सडक स्तरोन्नतिको काम हुने भएकाले सवारीसाधन आवागमन बन्द हुने जानकारी दिएको छ ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलका अनुसार वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म १५ दिन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म दैनिक छ घण्टा सो सडकमा सवारीसाधन आवागमन बन्द रहनेछ ।

ठिङ्गन-बगुवा सडकखण्डअन्तर्गत गङ्गटे नजिकैको भर्‍याङडाँडामा सडक स्तरोन्नति गर्ने काम गरिने भएकाले सडकमा सवारी आवागमन बन्द गर्न लागिएको सहायक कँडेलले बताए । सडक बन्द हुने भएकाले हेटौंडा-काठमाडौं वा काठमाडौं-हेटौंडा यात्रा गर्नुपर्ने भए वैकल्पिक मार्ग प्रयोग गर्न उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्