• Menu

तम्घास-सिमलटारी सडकमा चार पक्की पुल बनेपछि सहज यातायात, स्थानीय हर्षित

नेपाल प्रफिट

२०८२ वैशाख १२, शुक्रबार १८:४१

तम्घास-सिमलटारी सडकमा चार पक्की पुल बनेपछि सहज यातायात, स्थानीय हर्षित

गुल्मी । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको तम्घास-सिमलटारी सडकमा चारवटा पक्की पुल निर्माण गरिएका छन् । मदन भण्डारी राजमार्ग आयोजना गुल्मीबाट २८ किलोमिटर लामो यस सडकअन्तर्गत हुलाके, फूलबारी, घमिर र धनार्जी खोलामा पुल निर्माण गरिएका हुन् ।

पन्थ निर्माण सेवाले २०७८ साल माघमा फूलबारी खोला पुल तीन करोड ३२ लाख ६८ हजार ६३६ र घमिरखोला पुल तीन करोड १३ लाख ८४ हजार २३४ मा निर्माण सम्झौता गरेको थियो ।

त्यस्तै, सुनिल समिर निर्माण सेवाले ०७९ साल जेठामा हुलाके खोला पुल पाँच करोड ७९ लाख ५३ हजार ३३५ र धनार्जी खोला पुल सात करोड ४८ हजार ९९३ मा निर्माण सम्झौता गरेको थियो ।

चारैवटा पुलको कुल लागत १९ करोड २६ लाख ५५ हजार २०१ रहेको मदन भण्डारी राजमार्ग आयोजनाका सूचना अधिकारी होमनाथ पौडेलले जानकारी दिए । फूलबारी खोला पुल २०, घमिर खोला पुल १५, धनार्जे खोला पुल ३५ र हुलाके खोला पुल २५ मिटर लम्बाइका रहेका छन् ।

पुल निर्माण भएपछि इस्मा, धुर्कोट, मदाने, मालिकालगायतका नागरिकलाई राहत मिलेको छ । खासगरी वर्षायाममा पानीको बहाव बढी हुँदा यातायातमा निकै समस्या हुने गरेको थियो ।

विद्यार्थीहरूलाई विद्यालय जान, समयमै गन्तव्यमा पुग्न कठिन हुने गरेकामा अहिले सहज भएको छ । तम्घास-सिमलटारी सडकको चार स्थानमा पुल निर्माण नहुँदा गाडी फस्ने, पल्टिने, आवतजावत गर्न नसकेर वर्षौं नागरिकले सास्ती खेप्नु परेको थियो ।

समयमै पुल निर्माण नहुँदा नेता र नेतृत्वले निकै आलोचना पनि खेप्दै आएका थिए । अहिले चारवटा पक्की पुल एकैचोटि निर्माण भएका छन् । जसले गर्दा गुल्मी पश्चिमका पाँच स्थानीय तहसँगै प्यूठानका नागरिकलाई समेत सहज भएको छ । ‘पुल नबन्दा धेरै जोखिम थियो, नागरिकले धेरै सास्ती खेप्नुपरेको थियो,’ इस्मा गाउँपालिका-२ स्थित पालुखा माविका शिक्षक बाबुराम पन्थीले भने, ‘अहिले धेरै सहज भएको छ ।’

२८ किलोमिटरको तम्घास-सिमलटारी सडक कालोपत्र भएपछि इस्मा, मालिका, धुर्कोट र मदानेसहित प्यूठानका स्थानीयहरूलाई समेत यात्रामा लाग्ने समय घटेको छभने सडकले कैयौँ व्यावसायिक कामहरूको सुरूवात भएको छ ।

सडकको अहिलेको अवस्था मात्रै नभएर भोलिको भविष्य सम्झेर होटल तथा विभिन्न व्यवसाय गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ । छल्दी पनाहा, झरना, हुलाके, धनार्जी, चौरासी, राङ्गदल, फूलबारी र सिमलटारीलगायत स्थानमा होटल, ग्यारेज, फेन्सी, डेरी तथा व्यावसायिक तरकारी तथा पशुपालनको कामहरू भइरहेको इस्मा गाउँपालिका-६ का अगुवा कृषक कृष्ण घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्