दोलखा । विश्वको सबैभन्दा ठूलो चिनियाँ ग्रेटवाल पुग्ने रहर धेरैलाई हुन्छ । ग्रेटवाल अवलोकन भ्रमण गर्नकै लागि बर्सेनि लाखौं पर्यटक विश्वभरबाट चीन पुग्छन् । चीन जाने प्राय: नेपाली पनि ग्रेटवाल पुगेर फर्किन्छन् ।
तर, चीन जाने र ग्रेटवाल पुग्ने चाहना विभिन्न कारणले पुरा हुँदैन । चिनियाँ ग्रेटवाल पुग्न नसक्नेहरुले अब दोलखाको पर्यटकीय क्षेत्र शैलुङ डाँडामा चिनियाँ ग्रेटवालकै अनुभूति लिन सक्ने भएका छन् ।
दोलखाको शैलुङ गाउँपालिका-८ मा पर्ने शैलुङ डाँडासम्म जान शैलुङ बेसक्याम्प मानिने कालापानीदेखि नै मिनी ग्रेटवाल निर्माण गरिएको छ । पर्यटन प्रवर्धनका लागि शैलुङ गाउँपालिकाले मिनी ग्रेटवाल निर्माण गरेको हो । संघ सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा शैलुङ डाँडासम्म करिब ५ सय मिटर लामो मिनी ग्रेटवाल बनेको छ ।
मिनी ग्रेटवाल निर्माण गर्न पाँच करोड खर्च भएको गाउँपालिकाले जनाएको छ । यसलाई शैलुङ वालको नामले पनि चिनिन्छ । मान्छेभन्दा अग्लो दायाँबायाँ पर्खाल लगाइएको छ भने बीचमा हिँड्नका लागि ४ मिटर चौडा पैदलमार्ग छ । स्थानीय स्तरमा पाइने ढुंगा काटेर बाल बनाइएको छ भने स्थानीय ढुंगा नै बिछ्याएको छ ।
‘वाल बनेपछि आन्तरिक र बाह्य पर्यटक बढेका छन्,’ गाउँपालिका अध्यक्ष रिमलबाबु श्रेष्ठले भने, ‘यसलाई रंगरोगन गरेर थप आकर्षक बनाउनेछौं ।’ अब ५ सय मिटर थप यस्तै वाल बनाउँदा शैलुङको तल्लो थुम्कासम्म पुग्न सकिन्छ । थप वाल बनाउने गाउँपालिकाको योजना छ । आन्तरिक स्रोतले गाउँपालिका एक्लैले बनाउन नसक्ने हुँदा संघ र प्रदेश सरकारसँग बजेट माग गरिरहेको उनले बताए ।
चिनियाँ राजदूतलाई शैलुङ तस्बिरसहित भ्रमणको निम्तो
चिनियाँ ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको शैलुङ ग्रेटवालसहितको तस्बिर चिनियाँ राजदूत चेन सङलाई दिँदै शैलुङ भ्रमणको निम्तो दिइएको छ । शैलुङबासी समेत रहेका फ्रेन्डसिप अन त क्लाउड प्लेटफम अफ इन्फ्लुएन्स नेपालका अध्यक्ष शोभित उप्रेतीले चिनियाँ राजदूतलाई निमन्त्रणा गरेका हुन् ।
शैलुङ प्रचारप्रसारका काममा विगतदेखि सक्रिय उप्रेतीले चिनियाँ राजदूत चाँडै शैलुङ जान इच्छुक रहेको बताए । चिनियाँ राजदूत शैलुङ पुग्दा चिनिया पर्यटकलाई शैलुङ आकर्षित गर्न सकिने उनको बुझाइ छ ।
ग्रेटवालले तान्यो शैलुङमा पर्यटक
शैलुङमा ग्रेटवालको झल्को दिने पदमार्ग बनेपछि पर्यटकको आवागमन बढेको छ । बिदाको दिन, विभिन्न चाडपर्व र शनिबार शैलुङमा दिनमै हजारौं पर्यटक आउन थालेका छन् ।
वैशाख १ गते उप्रेतीकै पहलमा नयाँ वर्षको अवसरमा शैलुङमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना भएको थियो । त्यस दिन १० हजार बढीले शैलुङ भ्रमण गरेको अनुमान छ ।
पर्यटक बढ्न थालेपछि कालापानी क्षेत्र ढुंगेमा व्यवसायीले होटल र रिसोर्ट निर्माणमा लगानी बढाउन थालेका छन् । कालापानीमा एक वर्षको अवधिमा १०-१२ वटा सुविधासम्पन्न होटल खुलेका छन् । त्यति नै जति निर्माणधीन छन् ।
पर्यटकको सुविधाका लागि निर्माणाधीन होटलमा करोडौं लगानी भइरहेको छ । शैलुङ प्रवर्धनका लागि विभिन्न कार्यक्रम र भ्रमण पनि भइरहेका छन् । पर्यटक बढेपछि सुरक्षाका लागि प्रहरी पोस्टसमेत स्थापना भएको छ ।
चाँदीको घेरा जस्तै सगरमाथादेखि गणेश हिमालसम्मका हिमशृंखलाको मन लोभ्याउने दृश्य र दोलखा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, सोलुखुम्बु, ओखलढुंगालगायत जिल्लाको भूभाग एउटै विन्दुबाट अवलोकन गर्न सकिने भएकाले पनि शैलुङ धेरैको रोजाइमा पर्न थालेको छ । सूर्योदय र सुर्यास्तको मज्जा लिन शैलुङमा बस्ने पर्यटकको संख्या पनि ठूलो हुन्छ ।
दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङ डाँडामा साना-ठूला गरी सयवटा थुम्का छन् । हरेक समय पर्यटकको मन लोभ्याउने शैलुङ डाँडा समुद्री सतहदेखि तीन हजार १४६ मिटर उचाइमा छ । शैलुङमा प्राकृतिक मनोरम दृश्यावलोकन र धार्मिक पर्यटनका लागि पर्यटक आउने गरेका छन् ।
महाभारत क्षेत्रकै सबैभन्दा उच्च स्थानमा रहेको शैलुङलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न शैलुङ गाउँपालिकाले प्राथमिकतामा राखेको छ । शैलुङमा रामेछापको दोरम्बा गाउँपालिकाले पनि जोड दिएको छ ।
काठमाडौंबाट ११६ किलोमिटरमै कालापानी पुग्न सकिन्छ । अहिले सडक १२ महिना चल्न योग्य भएको छ । बाघखोरसम्म सडक कालोपत्र छ भने बाघखोरदेखि ढुंगेसम्म ८ किलोमिटर सडकमा कालोपत्र तयारी भइरहेको छ । सडक राम्रो भएका कारण पनि आन्तरिक पर्यटक शैलुङ आउन थालेको स्थानीय गोविन्द्र श्रेष्ठले बताए ।
धार्मिक रुपमा पनि पर्यटकहरु शैलुङ आउने गरेका छन् । शैलुंगेश्वर महादेव दर्शन, जुरेढुंगा महादेवको दर्शन, १२ वर्षमा गोदावरी मेलाका साथै भीमसेनको तरबार, पृथ्वीको नाइटो, बुद्धको पाइला भएकाले हिन्दु र बौद्ध धर्मावलाम्बीहरुका लागि शैलुङ विशेष स्थल बनेको छ ।