काठमाडौं । पहिचानवादी युवाहरूले स्थानीय पहिचान र अस्तित्व संरक्षण गर्दै विकास निर्माण अघि बढाउन सबै पक्ष तयार रहन आग्रह गरेका छन् । ‘पहिचानका लागि युवा’ संस्थाले बिहीबार काठमाडौँ पत्रकार सम्मेलन गर्दै पाथीभरा केबलकार निर्माणको विषयलाई द्वन्द्वभन्दा वार्ता र संवादमार्फत समस्या समाधान गर्न सबै पक्ष तयार रहनुपर्ने बताएको हो ।
संस्थाले वार्ताको माध्यमबाट पाथीभरा केबलकारको समस्या समाधान गर्न पहिचानवादी युवा तयार रहेको बताएको हो । पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष कृष्ण चोङवाङले आफूहरू विकासविरोधी नरहेको र समस्या समाधानका लागि सरकारसँग खुला ढंगले वार्ता गर्न तयार रहेको बताए ।
सबै आन्दोलनरत समूहहरू समेटेर सरकारले वार्तालाई गम्भीरतापूर्वक अघि नबढाएको आरोप लगाउँदै उनले विभिन्न तरिकाबाट वार्ताको पहल भइरहे पनि निष्कर्षमा पुग्न नसकेको बताए । समस्या समाधानका लागि सबैको ध्यानाकर्षण गराउन काठमाडौँमा पत्रकार सम्मेलन गरिएको अध्यक्ष चोङवाङको भनाइ छ ।
सबै पहिचानवादी समूहलाई सरकारले बोलाएर समस्याको पहिचान गरेपछि मात्र वार्ता र संवादबाट समाधान निस्किने विश्वास उनले व्यक्त गरे । आन्दोलनमा अलग-अलग समूह रहेकाले सार्थक वार्ता हुन नसक्दा समस्या बल्झिएकाले जनस्तरमा रहेको वास्तविक समस्या बुझेर समस्याको समाधान निकाल्न सकिने अध्यक्ष चोङवाङले बताए ।
‘केबलकार निर्माण बन्द गर्ने एजेन्डाले पहिचानका मुद्दा बलियो हुँदैन,’ उनले भने, ‘पहिचान संरक्षणका लागि जनस्तरमा रहेका सबै संघसंस्थासँग वार्ता र संवाद हुन जरुरी छ ।’ आफूहरू खुला ढंगले संवाद गर्न र त्यसको पहल लिन तयार रहेको उनले बताए ।
लिम्बुवान ब्रदरहुडका अध्यक्ष मिक्तोक लिम्बूले पाथीभरा लिम्बूको पहिचानसँग जोडिएको धरोहर भएकाले केबलकार निर्माण गर्दा पहिचान सम्वर्धनको ग्यारेन्टी हुनुपर्ने उल्लेख गरे । उनले विश्वका अधिकांश राजनीतिक आन्दोलन वार्ता र संवादबाटै समाधान भएको उदाहरण दिँदै केबलकार निर्माणको विषय पनि संवादमार्फत हल हुनुपर्ने बताए ।
पहिचान र विकासलाई सँगसँगै लैजानुपर्छ भन्ने पक्षमा आफ्नो धारणा राख्दै उनले अबको विकास मोडालिटीका सम्बन्धमा थप छलफल र बहस गर्नुपर्ने जोडदार माग पनि गरे ।
पहिचानका लागि युवाका केन्द्रीय संयोजक बिराज आङदम्बे लिम्बूले स्थानीय पहिचान र विकाससँग जोडिएका विषयमा सबै पक्षमा गम्भीरता देखिनुपर्नेमा बताए । पहिचानवादी युवाहरूका संस्थाले स्थानीय पहिचान र अस्तित्व कायम गरी विकास निर्माणलाई अघि बढाउन सबै पक्षसँग अपिल गरेको छ ।
राज्यले सबैलाई वार्तामा बोलाउने र केबलकार निर्माण कम्पनीले पनि आफ्नो धारणा जनस्तरमा लैजाँदा समस्याको समाधान हुने विश्वास संयोजक आङदम्बेको छ ।