• Menu

लगातार चौथो दिन घट्यो सेयर बजार

नेपाल प्रफिट

२०८२ वैशाख १०, बुधबार १६:२८

लगातार चौथो दिन घट्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार पनि घटेको छ । आइतबारदेखि घट्न थालेको सेयर बजार आज ३२.२८ अंकले ओरालो लागेर २६५५.९४ विन्दुमा बन्द भएको हो ।

मंगलबार ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बुधबार ७ अर्ब ५७ करोड रुपैयाँको मात्र कारोबार भएको छ ।

आज ३०८ वटा कम्पनीको १ करोड ८४ लाख ७७ हजार ७०३ कित्ता सेयर किनबेच भएको छ । बजारमा अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । आज २८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २१७ वटाको घटेको छ । एउटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

बुधबार नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । यस्तै, मंगलबार सर्वाधिक १० प्रतिशतले घटेको कर्पोरेट डेभलपमेन्ट बैंकको गिरावट बुधबार पनि रोकिएन । मकर जितुमाया सुरी हाइड्रोपावरको मूल्य पनि ५.५९ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका १३ वटा समूह मध्ये म्युचुअल फण्ड समूहमा मात्र बढेको छ । बाँकी १२ वटा समूह घटेको छ । विकास बैंक समूहको सर्वाधिक १.८८ प्रतिशत र अन्य समूहको १.८३ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा राधी विद्युत अगाडि देखिएको छ। कम्पनीको ५८ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दोस्रोमा एनआरएन इन्फ्रास्ट्रक्चरको ५१ करोड ६३ लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्