• Menu

तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुईको मृत्यु, चालकसहित १३ घाइते

नेपाल प्रफिट

२०८२ वैशाख ७, १९:३७

तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुईको मृत्यु, चालकसहित १३ घाइते

तनहुँ । डुम्रे-बेँसीसहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिका-१० कालीमाटीमा आइतबार माइक्रोबस र स्कुटर ठोक्किँदा मृत्यु भएका दुवै जनाको सनाखत भएको छ ।

डुम्रेतर्फ लमजुङ जाँदै गरेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ग २६ प ४०५८ नम्बरको स्कुटर ठक्कर खाँदा माइक्रोबसमा सवार मनाङको नार्फु गाउँपालिका-८ का ४० वर्षीय मन घले तथा  स्कुटरमा सवार लमजुङको बेँसीसहर नगरपालिका-८ की ३२ वर्षीया अनिता थापा श्रेष्ठको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

घलेको लमजुङस्थित नमूना सामुदायिक अस्पताल सुन्दरबजारमा तथा श्रेष्ठको प्रदेश अस्पताल दमौलीमा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते स्कुटर चालक बेँसीसहर नगरपालिका-८ का ४१ वर्षीय दीपेन्द्र श्रेष्ठलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ ।

त्यस्तै दुर्घटनामा माइक्रोबसमा सवार बेँसीसहर नगरपालिकाकी १४ वर्षीया पूजा गुरुङ, ओखलढुंगाका ५५ वर्षीय प्रेमबहादुर सुनार, लमजुङको दुधपोखरी गाउँपालिका-५ की २४ वर्षीया युनिशा गुरुङ, बेँसीसहर-५ की ६७ वर्षीया राजकुमारी गुरुङ, बेसीसहर-३ का ५४ वर्षीय लिलाप्रसाद बसौला, ओखलढुंगाका ३५ वर्षीय अलिश शाही, सोलुखुम्बुका ३२ वर्षीय कुमार राई, गोरखाको बारपाक सुलिकोट गाउँपालिका-८ का ५१ वर्षीय धनबहादुर गुरुङ, ओखलढुंगाका ३५ वर्षीय अधिस राई तथा गोरखाका ५१ वर्षीय धनबहादुर गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुको सिउडीबारस्थित भोटेओडार अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै बेँसीसहर-२ भकुमथोककी ७८ वर्षीया कृष्णकुमारी पाण्डे, ४३ वर्षीया तित्थकुमारी थापा र ३२ वर्षीया मनिका गुरुङको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ । माइक्रोबसका चालक सिन्धुपाल्चोकका मानबहादुर घलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्