काठमाडौं । एनएमबी बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा २ अर्ब ६० करोड रुपैयाँ खुद नाफा गरेको छ । हालै प्रकाशित वित्तीय विवरणअनुसार बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ३३ करोड रुपैयाँ बढी हो ।
एनएमबीले गत वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब २७ करोड नाफा गरेको थियो । बैंकको खुद ब्याज आम्दानी १ अर्बभन्दा धेरैले बढेको छ । नौ महिनामा बैंकले ६ अर्ब ४९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
खराब कर्जा बढेपछि बैंकले नोक्सानी व्यवस्थाका लागि छुट्याएको रकम पनि बढेको छ । बैंकले १ अर्ब २९ करोड प्रोभिजन गरेको छ । एनएमबी बैंकको निष्क्रिय कर्जा ४.४७ प्रतिशत पुगेको छ ।
नाफा बढेका कारण बैंकको प्रतिसेयर आम्दानी पनि १६.२७ रुपैयाँबाट बढेर १७.२३ रुपैयाँ पुगेको छ । बैंकको नेटवर्थ १५७.१३ रुपैयाँ छ ।
बैंकले हालसम्म २ खर्ब ६९ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन तथा २ खर्ब २५ अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । नौ महिनाको अवधिमा बैंकले निक्षेप ४५ अर्बले र कर्जा ३१ अर्बले बढाएको छ ।
बैंकको प्राथमिक पुँजीकोष ९.२३ प्रतिशत कायम भएको छ । त्यस्तै वितरणयोग्य नाफा १ अर्ब ३१ करोड छ । बैंकको लाभांश क्षमता ६.६५ प्रतिशत छ ।