• Menu

असोजको बाढीले ध्वस्त बनाएको काभ्रेमा ७ महिनापछि बल्ल थालियो निजी आवास क्षतिको आकलन

नेपाल प्रफिट

२०८२ वैशाख ७, १०:२८

असोजको बाढीले ध्वस्त बनाएको काभ्रेमा ७ महिनापछि बल्ल थालियो निजी आवास क्षतिको आकलन

काभ्रे । २०८१ असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोले काभ्रेमा बागमती प्रदेशमै सबैभन्दा बढी जनधन क्षति पुर्‍यायो । विपत्तिको करिब सात महिनापछि सरकारले सबैभन्दा बढी जनधनको क्षति भएको रोशी गाउँपालिकाबाट निजी आवासको विस्तृत क्षति आकलन सुरु गरेको छ ।

गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका–२ नारायणटारबाट बुधबार क्षति आकलन सुरु गरेका छन् । उनले उक्त पालिकाको वडा नं २ का तीन जना पीडितलाई क्षति आकलन निस्सा प्रदान गर्दै विस्तृत क्षति आकलन सुरु गरेका हुन् ।

धनसिंह लामा, राजन बोहोरा क्षेत्री र शुभद्रा सेञ्चुरीले गृहमन्त्रीबाट बुधबार निस्सा प्राप्त गरे । घटनामा अतिप्रभावित रोशी गाउँपालिकाबाट यस कार्यको आरम्भ गरिएको र अब प्रभावित सबै पालिकामा यसरी नै क्षति आकलन गर्नेगरी गृहमन्त्री लेखकले गृहकार्य गर्न निर्देशन दिए । पीडितलाई निस्सा प्रदान गर्नुअघि लेखकले बाढीपहिरो प्रभावित नारायणटारको अवलोकन गरेका थिए ।

प्रक्रियागत रूपमा बाढीपहिरोबाट प्रभावितको पुनर्निर्माणको कार्य सुरु गर्न ढिलो भएको स्वीकार गर्दै उनले अस्थायी आवास निर्माणका लागि दुई चरणमा ५० हजार र स्थायी घर निर्माणका लागि सरकारको तर्फबाट क्रमशः अनुदान उपलब्ध गराउने जानकारी गराए ।

सरकारले बुधबार मात्र अस्थायी आवास निर्माणका लागि काभ्रेमा सात करोड ३५ लाख निकासा गरेको छ भने काभ्रेमा विस्तृत क्षति आकलनका लागि १८ जना प्राविधिक खटाएको छ । यसको सहजीकरणका लागि स्थानीय जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीलाई विशेष रूपमा ध्यानाकर्षण गराइएको छ ।

रोशी गाउँपालिकामा पाँच सय ६३ घर क्षति भएका छन् । रोशीमा तीनवटा क्लस्टर बनाएर क्षति आकलनको काम सुरु गरिएको छ । यसमा प्राविधिकले क्षति हेरेर विवरण निर्धारण गरेपछि मात्र सोहीअनुसार गाउँपालिकाले काम सुरु गर्ने छ ।

बाढीपहिरोबाट विस्तृत क्षति आकलनपछि जिल्लामा पुनर्निर्माणको काम सुरु गर्न सहज भएकाले अब यसले गति लिनेमा आफू विश्वस्त रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । ‘अब प्रभावित क्षेत्रका निजी घरका साथै पुल, भौतिक संरचना, तटबन्धनलगायत पूर्वाधार निर्माणमा पनि सरकारले सहयोग गर्न सहज हुने विश्वास गरेका छौँ,’ उनले भने ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सीईओ दिनेश भट्ट पीडितले अस्थायी र स्थायी आवास निर्माणको काम एकैपटक गर्न चाहेमा त्यो पनि सम्भव भएको तर त्यसका लागि विस्तृत क्षति आकलनको काम भने अनिवार्य हुनुपर्ने बताउँछन् । ‘यसअघि स्थानीय तहले प्राधिकरणको पोर्टलमा प्रविष्ट गरेको र अबको पूर्ण क्षति आकलनबाट यकिन तथ्यांकबाट अझ प्रभावकारी राहत/अनुदानका लागि सहज हुनेछ,’ उनले भने ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले आउँदो वर्षाअघि रोशीमा जाने सडक निर्माणमा जोड दिनसके मात्र अस्थायी र स्थायी आवास निर्माण गर्न सकिने बताए । फलामेटारमा बाढीले बगाएर केही बाँकी रहेको पुललाई जोगाउन नसके आगामी दिन अझ कठिन हुने भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

बाढीपहिरोबाट काभ्रेमा ८१ जनाको निधन भएको छ भने ६ जना अझै बेपत्ता छन् । भौतिक संरचना, पुल, अस्पताल, विद्यालय, संग्रहालयलगायतमा बाढीपहिरोले अर्बौंको क्षति पुर्‍याएको छ । बाढीपहिरोबाट जिल्लाका १३ स्थानीय तहमध्ये पनौती नगरपालिकाको रोशी क्षेत्र तथा रोशी र बेथानचोक गाउँपालिकमा सबैभन्दा बढी जनधनको क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्