• Menu

गुणाकर भट्टले कार्यकारी निर्देशकबाट दिए राजीनामा, अघि बढ्यो गभर्नर नियुक्ति प्रक्रिया

नेपाल प्रफिट

२०८२ वैशाख ५, शुक्रबार १४:०४

गुणाकर भट्टले कार्यकारी निर्देशकबाट दिए राजीनामा, अघि बढ्यो गभर्नर नियुक्ति प्रक्रिया

काठमाडौं । सत्ता साझेदार दलहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवार र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच सहमति बनेसँगै गभर्नर नियुक्ति प्रक्रिया अघि बढेको छ । दुई दलबीचको हानाथापले नेतृत्वविहीन बनेको नेपाल राष्ट्र बैंकले अब भने गभर्नर पाउने पक्का भएको छ ।

देउवा र ओलीबीच राष्ट्र बैंकका गभर्नर र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि बुधबार भागबण्डा मिलेपछि गभर्नर बन्ने बाटो खुलेको हो । कांग्रेसको भागमा गभर्नर परेपछि देउवाले राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई अघि सारेका थिए भने त्यसमा ओलीले सहमति जनाएका थिए ।

गभर्नर बन्ने पक्का भएपछि भट्टले शुक्रबार बिहान नै कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका छन् । सरकारले तीन साताअघि नै गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा सिफारिस समिति बनाएको थियो । तर, कांग्रेस र एमालेबीच सहमति नहुँदा समितिको बैठक नै बस्न सकेको थिएन ।

भट्ट गभर्नर बन्ने टुंगो लागेपछि सिफारिस समितिको बैठक बस्ने भएको छ । समितिले आजै भट्टसहित अन्य दुई जनाको नाम सिफारिस गर्नेछ । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले भट्टलाई गभर्नर नियुक्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्