• Menu

काभ्रेका तीन विद्यालय भवन ठेकेदारको लापरबाहीले चार वर्षदेखि अलपत्र, विद्यार्थीको भविष्य अन्योलमा

नेपाल प्रफिट

२०८२ वैशाख ५, शुक्रबार ११:४१

काभ्रेका तीन विद्यालय भवन ठेकेदारको लापरबाहीले चार वर्षदेखि अलपत्र, विद्यार्थीको भविष्य अन्योलमा

काभ्रे । २०७२ सालको भूकम्पले भत्काएका विद्यालय भवनमध्ये तीनवटा भवन अझै सम्पन्न भएको छैन । सम्झौताअनुसार काम सम्पन्न गरेर हस्तान्तरण गरिसक्नुपर्ने जिल्लाका डाँडापारिस्थित महाभारत गाउँपालिकाका तीनवटा विद्यालयको भवन अझै अलपत्र अवस्थामा छन् ।

निर्माण कम्पनीले कामको जिम्मा लिएर सम्झौता गरी भवनका पिलर ठड्याएर ढलान गरी त्यत्तिकै अलपत्र छाडेको हो । महाभारत गाउँपालिका-२ कुपिन्टारस्थित कालीदेवी मावि भवन, वडा नं १ को गोकुलेस्थित गोकुले मावि र वडा नं ८ स्थित घर्तीछापको जनकल्याण माविको भवन ढलान मात्र गरेर अलपत्र पारेको छ ।

सम्झौता गरेर विगत चार वर्षदेखि निर्माण अलपत्र पारेपछि यहाँका बालबालिकाले सुविधायुक्त भवनमा बसेर अध्ययन गर्न पाएका छैनन् । एकातिर भवन अलपत्र अर्कातिर भवन अभावका कारण विद्यार्थीलाई अध्ययन गर्न सुरक्षित ठाउँमा बस्न नपाएपछि शैक्षिक क्रियाकलापमा नै नराम्रो प्रभाव पारेको विद्यालयले जनाएको छ ।

भूकम्पले जीर्ण बनाएको विद्यालय भवनमा पठनपाठन गर्न नमिल्ने भएपछि नयाँ भवन निर्माणका लागि थालिएको कामले पूर्णता नपाउँदा जिल्लाको विकट डाँडापारिस्थित महाभारत-२ कुपिन्टारका विद्यार्थी अहिले पनि अस्थायी सिकाइ केन्द्रमा बसेर पढ्न बाध्य छन् ।

विद्यालय भवन निर्माण थालेको वर्षौँ भयो, नयाँ साल फेरिए, कक्षा चढ्दै गए तर, यहाँका बालबालिकाले अझै पनि नयाँ सुविधासम्पन्न भवनमा अध्ययन गर्न पाएका छैनन् ।

विद्यालयका प्रधानाध्यापक सुनिल सारूले विद्यालयको भवन नबन्दा बालबालिकाले पठनपाठन गर्न कठिनाइ व्यहोर्दै आएको बताए । ‘तत्कालीन जिल्ला आयोजना कार्यान्वयन एकाइले बनाएको चारकोठे भवनमा प्रशासन, कम्प्युटर ल्याब र दुईवटा कोठा साना बालबालिकाका लागि कक्षा सञ्चालन भइरहेको छ,’ उनले भने । जहाँ छानासमेत हुरीबतासले गर्दा बाँसले बेरेको बार केही नभएकाले खुला ठाउँमा राखेर पढाउनु पर्दा निकै समस्या खेप्नुपरेको प्रधानाध्यापक सारुले बताए ।

विद्यालयका लागि ६-६ कोठे नयाँ तीन भवन निर्माण गर्नेगरी २०७७ सालमा काम थालेकामा अहिलेसम्म पनि सम्पन्न नगरेपछि पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको विद्यालयले जनाएको छ ।

अहिले तीनवटा भवनको तीन ढलानमात्र गरेर काम अलपत्र पारेको र शौचालय, घेराबारको पर्खाल र खानेपानीसहितको संरचना निर्माण गर्नुपर्नेमा कुनै पनि कामले गति नलिएको अवस्था छ ।

भवन निर्माण थालेर बीचमा अलपत्र पारेर राखेपछि छिटो सम्पन्न गर्नका लागि महाभारत गाउँपालिकाले सम्बन्धीत कार्यालयको ध्यानाकर्षण गराएको छ । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा नेतृत्वको टोलीले केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक लक्ष्मीप्रसाद भट्टराईलाई भेटेर ध्यानाकर्षण गराएको हो ।

महाभारतका अध्यक्ष कान्छालाल जिम्बाले भूकम्पले भत्काएको विद्यालय भवन निर्माणको चरणमा छभने यहाँका तीनवटा विद्यालयका भवन निर्माण व्यवसायीले अलपत्र पारेको बताए । जसमध्ये कालीदेवी मावि कुपिन्टारको अवस्था झन् नाजुक छ । निर्माण कम्पनी र सम्बन्धित निकायमा पटकपटक कुरा राख्दा पनि आश्वासनमात्र पाएको तर निर्माणकार्यले गति लिन नसकेको उनको भनाइ छ ।

गाउँपालिकाबाट पटकपटक ताकेता गर्ने, पत्र पठाउने र समझदारी पनि गर्दै काम गर्न आग्रह गरेको भए पनि कामले अझै गति लिन नसकेपछि पछिल्लो समयमा केन्द्रीय आयोजना कार्यान्वयन एकाइका आयोजना प्रमुखलाई भेटेर ध्यानाकर्षण गराएको अध्यक्ष जिम्बाले बताए ।

समयमा काम सम्पन्न नगरेपछि जरिवाना लगाएर थपेको समयभित्र काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिइसकेको आयोजनाका प्रमुख लक्ष्मीप्रसाद भट्टराईले बताए ।

जनकल्याणको भौतिक प्रगति ७२ प्रतिशत र आर्थिक प्रगति ५१ प्रतिशतमात्र भएको छभने गोकुले माविको ७१ प्रतिशत भौतिक प्रगति र ४८ प्रतिशत, कालीदेवी माविको भौतिक प्रगति ५० प्रतिशत र आर्थिक प्रगति ४५ प्रतिशतमात्र रहेको जनाएको छ ।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनकल्याण मावि भवन निर्माणका लागि भ्याटबाहेक ६ करोड ७१ लाख ६६ हजार ५१६, गोकुलेको ६ करोड ५४ लाख ९४ हजार ९९० र कालीदेवीको सात करोड १५ लाख १२ हजार ८०० लागतमा टिडिआईरआशिष निर्माण सेवाले सम्झौता गरेर काम अगाडि बढाएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्