• Menu

मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते

नेपाल प्रफिट

२०८२ वैशाख ५, शुक्रबार ११:११

मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते

मकवानपुर । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् ।

आज राति १:०० बजे मकवानपुरगढी गाउँपालिका-२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको तथा १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका अनुसार बा प्र ०१-००६ ख ७०७२ नम्बरको गाडी शुक्रबार १:०० बजे सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनाको जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको कमाण्डमा प्रहरी टोली खटिएको थियो । गाडीमा चालकसहित १६ जना सवार थिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी रौतहटकी ५० वर्षीया नीलमदेवी राउतको उपचारको क्रममा आज बिहान हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार सर्लाहीकी १३ वर्षीया मानुसी मगरको शव आज बिहान घटनास्थल नजिकैको खोल्सामा फेला परेको हो । दुर्घटनामा घाइते भएका १० जनाको हेटौंडा अस्पताल र अन्यको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्