काठमाडौं । सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीचको हानाथापले नेपाल राष्ट्र बैंक यतिखेर नेतृत्वविहीन बनेको छ । गभर्नर आफ्नो पक्षमा पार्न दुवै दलका दोस्रो, तेस्रो तहका नेतासमेत कम्मर कसेरै लागेका छन् ।
तर, तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिनुभन्दा तीन-चार महिना अघिदेखि सुरु भएको लुछाचुँडीले अझै सार्थकता पाएको छैन । गभर्नर नियुक्तकै सन्दर्भमा मूलत: कांग्रेसका दोस्रो तहका नेताहरु बढी असन्तुष्ट देखिएका छन् ।
कांग्रेस महामन्त्री गगनकुमार थापाले ‘विचौलियाहरु प्रधानमन्त्रीको बेडरुमसम्म पुग्ने गरेको’ बताएपछि राजनीति निकै तरंगित बनेको छ । अर्का महामन्त्री विश्वप्रकाश शर्माले ‘कांग्रेसका कारण काम गर्न सरकारलाई अफ्ठ्यारो भएको भए खुलेर भन्न’ आग्रह गरेका छन् ।
यी असन्तुष्टिहरु गभर्नर नियुक्तिसँग जोडिएका छन् । विचौलियाको चलखेलकै कारण गभर्नर नियुक्ति हुन नसकेको कुरा सत्तारुढ दलका जिम्मेवार नेताहरुबाटै बाहिर आइरहँदा सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि पनि प्रश्न उठ्न थालेको छ ।
प्रधानमन्त्रीमाथि कांग्रेस मात्र नभएर एमालेकै कतिपय नेताले पनि प्रश्न उठाएका छन् भने अर्थतन्त्रका जानकारहरुले सत्तारुढ दुवै दलको नियतमाथि आशंका गरेका छन् । अर्थतन्त्र जटिल अवस्थामा रहेका बेला मौद्रिक नीति निर्माण गर्नुपर्ने जिम्मेवारी दिनुपर्ने मान्छे ‘हाम्रो नभएर राम्रो’ अर्थात् क्षमतावान हुनुपर्ने उनीहरुको सुझाव छ ।
लामो रस्साकस्सीका बीच सत्ता गठबन्धनका प्रमुख दल राष्ट्र बैंकको गभर्नरमा कार्यकारी निर्देशक गुणाकर भट्टलाई नियुक्त गर्ने विषयमा सहमतिनजिक पुगेको स्रोतले जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सुरुदेखि नै जोड गरिरहेका कारण प्रधानमन्त्री ओली सहमत भए भट्ट गभर्नर बन्ने निश्चित जस्तै छ ।
गभर्नरमा पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका ज्ञानेन्द्र ढुंगाना र राष्ट्र बैंककै सञ्चालक समिति सदस्य रवीन्द्र पाण्डेले पनि तीव्र लबिइङ गरिरहेका छन् ।