काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज राति देशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभावसँगै भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको वायुको पनि प्रभाव परेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विशेषगरी कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सफा रहनेछ ।
कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।