• Menu

हुम्लामा बाढी : गोठभित्र २६ बाख्रा पुरिए, ११ पसल बगे

नेपाल प्रफिट

२०८२ वैशाख ४, १२:४५

हुम्लामा बाढी : गोठभित्र २६ बाख्रा पुरिए, ११ पसल बगे

हुम्ला । हुम्लामा बिहीबार बिहान अत्यधिक वर्षा हुँदा अदानचुली गाउँपालिका-३ स्थित गोठभित्र पुरिएर २६ बाख्रा मरेका छन् । अदानचुली-३ का आइते बुढाको गोठभित्र रहेका ७० मध्ये २६ वटा बाख्रा बाढीपहिरो आउँदा पुरिएर मरेका हुन् ।

भेडीगोठभित्र पहिरो पस्नुका साथै गोठ भत्किँदा २६ बाख्रा मरेका पीडित किसान बुढाले बताए । गोठभित्र रहेकामध्ये २९ वटा बाख्रा गाउँलेको सहयोगमा जीवित निकालिएको उनले जानकारी दिए । उनका अनुसार बाँकी बाख्रा हराइरहेकाले खोजीकार्य भइरहेको छ ।

एक्कासि आएको वर्षाले ठूलो क्षति गरेको बताउँदै बुढाले दुःखकष्ट र मेहनतका साथ पालिएका बाख्राको गोठभित्र पसेको पहिरोका कारण २६ वटा बाख्रा मरेका र केही बेपत्ता रहेका उल्लेख गरे ।

बिहीबार बिहान आएको वर्षाले अदानचुली गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ । बिहान परेको मुसलधारे वर्षाले श्रीनगर बजारमा व्यवसाय गर्दै आएका व्यवसायीका अस्थायी टहरासहित पसलमा राखिएका सामानमा क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

अविरल वर्षापछिको बाढीले अदानचुलीमा ११ पसल, एक घर र एक भेडीगोठमा क्षति पुर्‍याएको जनाउँदै ११ वटा पसल बगाएको सञ्चारकर्मी मोहनसिंह बुढाले बताए ।

वर्षासँगै आएको लेदोसहितको बाढीले अदानचुली-२ अमृत बुढा, अदानचुली-१ का बुद्धि महतारालगायत व्यवसायीका पसलमा क्षति पुर्‍याएको उनीहरूले जानकारी दिए । यहाँका अधिकांश घर तथा टहरामा पानी पसेर स्थानीय प्रभावित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्