• Menu

फोहोर व्यवस्थापनमा बागलुङको दीर्घकालीन योजना, ३६ करोड ७७ लाख लगानी

नेपाल प्रफिट

२०८२ वैशाख ३, बुधबार १५:०७

फोहोर व्यवस्थापनमा बागलुङको दीर्घकालीन योजना, ३६ करोड ७७ लाख लगानी

बागलुङ । बागलुङ नगरपालिकाले नगरभित्रको फोहोर लाई स्रोतबाटै संकलन गर्ने र ल्यान्डफिल्डसाइटमा प्रोशोधन गरेर बिक्री गर्ने योजना कार्यान्वयनमा ल्याएको छ ।

नगरपालिकाले नगर क्षेत्रमा संकलन हुने फोहोर लाई पुनः प्रयोग र अन्य फोहोर लाई प्रशोधन गर्नेगरी नमूना ल्यान्डफिल्डसाइट निर्माण गरिसकेको छ । आधा दशकदेखिको फोहोर व्यवस्थापनको समस्या दीर्घकालीन रूपमा समाधान गर्न नगरपालिकाले फोहोर प्रशोधनको जिम्मा समानता अभियान नेपाललाई दिएको हो ।

फोहोर व्यवस्थापनमा चुनौती व्यहोरिरहेको नगरले समानता अभियान नेपालसँग फोहोर व्यवस्थापनको सम्झौता गरेको नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । उनका अनुसार स्रोतबाटै फोहोर संकलनका लागि बजारभरि १५ हजार डस्विन वितरण गरिएको छ ।

समानता अभियानका चन्द्रकान्त पौडेल र बागलुङ नगरपालिका प्रमुख श्रेष्ठले ३६ करोड ७७ लाख लागतमा नमूना फोहोर प्रशोधन केन्द्र निर्माणका लागि सम्झौता गरेको नगर कार्यालयले जनाएको छ ।

नगरपालिकाले पाँच प्रतिशत र अभियानले ९५ प्रतिशत आर्थिक भार व्यहोर्दै फोहोर व्यवस्थापन गर्न ३६ करोड ७७ लाख खर्च हुने छभने प्रशोधनबाट निकालिएको फोहोर बाट अत्यावश्यक तथा घरायसी सामग्री बनाउन सकिने श्रेष्ठको भनाइ छ ।

हाल फोहोर फालिएको बागलुङ-१ स्थित मालढुंगामा व्यवस्थापन गरिने बताउँदै उनले प्रशोधन गरिएको फोहोर व्यवस्थापन केन्द्रलाई अध्ययन अवलोकन तथा पर्यटकीयस्थलका रूपमा विकास गरिने जानकारी दिए ।

केन्द्रका लागि तत्काल चाहिने केही उपकरण र सवारीसाधन अभियानबाट संकलन गरिने नगरप्रमुख श्रेष्ठले जानकारी दिए । फोहोर व्यवस्थापन गर्दा डम्पिङसाइट दुर्गन्धित नहुने, पुनः उपयोग गरेर फोहोर बाटै पैसा कमाउन सकिनेलगायत लक्ष्य राखिएका उनले बताए ।

‘फोहोर व्यवस्थापनको चुनौती बढिरहेको सन्दर्भमा नगरपालिकाले साझेदार निकायसँग मिलेर काम गर्न थालेको छ, नगरपालिको दुई करोड लागतमा फोहोर प्रशोधन केन्द्र निर्माण गरिसकेको छ, फोहोर प्रशोधनको काम यथाशीघ्र सुरु हुन्छ,’ श्रेष्ठले भने, ‘फोहोर प्रशोधन केन्द्र अब दुर्गन्धरहित बनाएर पर्यटकीय केन्द्रका रूपमा विकास गर्नेछौँ ।’

नगरपालिकाले यसअघि तीन प्रकारका बाल्टिन दिएर फोहोर संकलनको काम थालिसकेको छ । ती फोहोर कसरी संकलन गर्ने भन्नेबारेमा बालबालिकाको इको क्लब गठन गर्ने, अभिभावकलाई सचेतना बढाउने काम पनि गरिने नगरप्रमुख श्रेष्ठले बताए । आगामी दिनमा प्रदूषणरहित नगर बनाउने, बायोग्यास प्लान्ट निर्माण र फोहोर व्यवस्थापन नजिकै स्विमिङ पुल बनाउने योजना रहेको उनले उल्लेख गरे ।

उक्त स्थानमा तीन खण्ड बनाएर कुहिने, नकुहिने, सिसाजन्यलगायत खतरा फोहोर को व्यवस्थापन गर्न केही संरचनासमेत नगरपालिकाले बनाइसकेको छ । २०५४ सालदेखि नगरपालिकाले एक दशकसम्म कालीगण्डकी किनारमा फोहोर फालेको थियो । कुहिने र नकुहिने फोहोर एकै ठाउँमा फाल्दा यहाँको १० रोपनी जग्गा भरिएको थियो । कुहिने फोहोर कम्पोस्ट मल बनाउने र नकुहिने प्लास्टिकजन्यलाई पुनः प्रयोगमा पठाउने लक्ष्य राखिएको नगर कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्