• Menu

सुखानी वन क्षेत्रमा ‘भिओलेट कुक्कू’ चरा  भेटियो

नेपाल प्रफिट

२०८२ वैशाख ३, बुधबार १३:५४

सुखानी वन क्षेत्रमा ‘भिओलेट कुक्कू’ चरा  भेटियो

काठमाडौं । नेपालको लागि नयाँ प्रजातिको चरा अभिलेख गरिएको छ । इलाममा समुद्री सतहबाट तीन सय मिटर उचाइमा रहेको सुखानी वन क्षेत्र ‘भिओलेट कुक्कू’ नामको चरा अभिलेख गरिएको नेपाल पन्छीविद् संघले जनाएको छ ।

चराविद् राजेन्द्र गुरुङसमेतको टोलीले चरा अवलोकनका क्रममा गत चैत २५ गते पहिलोपटक बिहान सुखानी वन क्षेत्रमा उक्त प्रजातिको भाले चरा देखेका थिए । सोही दिन सोही स्थानमा पटकपटक एक रुखबाट अर्को रुखमा उड्दै बस्दै गरेको अवस्थामा एक घण्टाभन्दा बढी समयसम्म उक्त चरालाई अवलोकन गरिएको थियो ।

चरा अवलोकन गर्ने क्रममा गुरुङका साथमा रहेका मलेसियन नागरिक अलेक्जेन्डर जोन एङ्ग याङले आवाज पहिचान गरी चरालाई पहिल्याएका थिए । टोलीमा रहेका अर्का मलेसियन नागरिक रोगर रोबर्ट राजह र नेपाली चराविद् अनिस तिम्सिनाले पनि सो भाले चरालाई अवलोकन गरेको संघद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

टोलीका सदस्यहरूले चराको फोटो र भिडियो खिचेर प्रारम्भिक पहिचान गरेका थिए । चैत २८ गते सो चराको एकीन पुष्ट्याइका लागि चराविद् राजेन्द्र गुरुङले चराको विवरणसहित फोटो नेपाल चरा तथ्यांक समितिमा पठाएका थिए ।

समितिले प्राप्त विवरणहरूको अध्ययन गर्दै, राष्ट्रिय अन्तरराष्ट्रिय पन्छीविद्हरूसँग पनि रायसुझाव संकलन गरी नयाँ चराको अभिलेख गरेको समितिका अध्यक्ष डा. तुलसी सुवेदीले जानकारी दिइन्।

उक्त चराको नेपाली नाम बेजनी कोइली राखिएको छ । यो चरा भुटान, फिलिपिन्स, सिङ्गापुर, बंगलादेश, ब्रुनाइ, चीन, भारत, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, थाइल्यान्ड र भियतनाममा आवासीय रूपमा पाइन्छ भने यसले भुटान, फिलिपिन्स, सिङ्गापुरमा प्रजनन गर्दछ । विश्वमा यस चराको दुई उपप्रजाति अभिलेख भएका छन् । यो सँगै नेपालको अभिलेखमा चरा प्रजातिको सङ्ख्यामा एउटा प्रजाति थप भएको छ र अब नेपालमा जम्मा चरा प्रजातिको संख्या आठ सय ९९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्