रुकुम पश्चिम । रुकुम पश्चिम जिल्लाको २१ हजार ८५५ घरमा केन्द्रीय विद्युत प्रसारण जोडिएका छन् । ६ वटा स्थानीय तहमध्ये अझै १८ हजार घरमा केन्द्रीय विद्युत प्रसारण पुग्न बाँकी रहेको रुकुम पश्चिम विद्युत वितरण केन्द्र प्रमुख वीरमान रासकोटीले जानकारी दिए ।
प्राधिकरणले केही महिनाअघि जिल्लाका ७३ वडाको लगत संकलन गरेको थियो । चालु आर्थिक वर्षसम्म जिल्लाभरबाट दुई हजार ५०० घर थपिने प्राधिकरणको अनुमान छ ।
हालसम्म सानीभेरी गाउँपालिका-५ र ७ तथा आठविसकोट नगरपालिका-३ मा केन्द्रीय विद्युत प्रसारण लाइन पुग्न सकेको छैन । केन्द्रीय प्रसारण लाइन नपगेका ती घरहरुमा स्थानीय स्तरमा उत्पादित जलविद्युत आयोजनाको विद्युत प्रयोग गरिरहेका छन् । जिल्लाका सबै नागरिकलाई दुई वर्षभित्र केन्द्रीय विद्युत प्रसारणको पहुँचमा ल्याउने लक्ष्य रहेको वितरण केन्द्र प्रमुख रासकोटीले बताए ।
जिल्लामा सञ्चालन भइरहेको पुनःविद्युतीकरण परियोजना तथा भम्पू चौर सबस्टेसनको काम सम्पन्न भएपछि जिल्लामा केन्द्रीय प्रसारण लाइनमा नसमेटिएका घरपरिवारलाई समेटिने उनले जानकारी दिए ।
जिल्लाभर केन्द्रीय प्रसारण लाइन विस्तार गर्न करिब १६ करोड बजेट आवश्यक पर्ने वितरण केन्द्र रुकुम पश्चिमले जनाएको छ ।