कञ्चनपुर । महेन्द्रनगरस्थित कभर्डहल परिसरमा निर्माणाधीन कुस्ती प्रशिक्षण कक्षमा बजेट अभाव भएको छ । प्रशिक्षण कक्ष नहुँदा खेलाडीहरुलाई नियमित अभ्यासमा समस्या हुने गरेको छ भने अन्य खेलको प्रशिक्षण कक्षमा आश्रय लिनु परेको कुस्ती प्रशिक्षक राजेन्द्रबहादुर चन्दले बताए ।
‘कुस्तीका खेलाडीहरुले अन्य खेलको प्रशिक्षण केन्द्रमा आश्रय लिनुपरेको छ,’ प्रशिक्षक चन्दले भने, ‘अहिले बिहान र साँझ समय मिलाएर प्रशिक्षण गरिरहेका छौँ ।’ तेक्वान्दोमा सबैभन्दा बढी पदक ल्याउनेमा कञ्चनपुरकै खेलाडी छन् तर उनीहरुका लागि प्रशिक्षण केन्द्र निर्माण भने हुन नसकेको उनको भनाइ छ ।
कुस्ती प्रशिक्षण केन्द्र निर्माणका लागि गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारबाट १० लाख बजेट आए पनि तीन लाख ‘फ्रिज’ भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । साथै चालु आवमा भने बजेट विनियोजन नै नभएको उनको भनाइ छ ।
जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले बजेट नहुँदा कुस्तीका लागि प्रशिक्षण कक्ष निर्माण हुन नसकेको बताए । भट्टले भने, ‘प्रशिक्षण कक्ष नहुँदा खेलाडीहरुले अभ्यासमा समस्या झेल्नु परेको छ ।’ उनले आगामी आवको बजेटमा यसका लागि बजेट विनियोजनको प्रयास भइरहेको बताए ।
जिल्ला खेलकुद विकास समितिका सदस्य विकास महता खेलाडी उत्पादनका लागि सोही अनुसारको पूर्वाधार जरुरी भएको बताए । ‘कञ्चनपुरमा क्रिकेट, कुस्ती र फुटबललगायतका खेलमा राम्रा खेलाडी उत्पादन भइरहेका छन्, पूर्वाधार निर्माण जरुरी भइसकेको छ ।’