काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८२ नेपाली इतिहासमा स्मरणीय र सुनौलो बन्नुपर्ने बताएका छन् । नयाँ वर्षको अवसरमा जारी गरिएको एक भिडियो सन्देशमा उनले आपसी संवाद, सहमति, समन्वय र सहकार्यबाट हरेक समस्याको समाधान खोज्न सकिने विचार व्यक्त गरेका छन् ।
पूर्वराजा शाहले ‘नेपाल आमा’लाई केन्द्रमा राखेर आफ्ना विचार र कदम अघि बढाउनुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘संसार धेरै अघि बढिसक्यो, तर हामी अझै पनि विभिन्न वादको चक्रमा फसेका छौं । अब नेपाललाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ।’
उनले ‘स्वदेश फर्क, स्वदेश नै स्वर्ग’ भन्ने अभियान चलाउनुपर्ने आवश्यकता औंल्याउँदै नेपालको प्राकृतिक सुन्दरतालाई सदुपयोग गरी विकासको बिगुल फुक्नुपर्ने बताए । साथै, उनले ‘शासन र भ्रष्टाचारमुक्त प्रशासनुलाई प्रमुख नारा बनाउनुपर्ने धारणा पनि राखेका छन्।’
नयाँ वर्षले सबैमा नयाँ आशा, उमंग र उत्साह ल्याओस् भन्ने कामना गर्दै पूर्वराजा शाहले नेपालीको उज्ज्वल भविष्यको सुनिश्चितताको लागि पशुपतिनाथसँग प्रार्थना गरेका छन् ।
यसैबीच, पूर्वराजा ज्ञानेन्द्रले हालै तीनकुने क्षेत्रमा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले नागरिक स्वतन्त्रताभन्दा ठूलो कुनै पनि तन्त्र वा वाद नहुने उल्लेख गर्दै जनगुनासो सुन्ने संस्कार हुनुपर्नेमा जोड दिएका छन् ।