• Menu

रोमाञ्चक फाइनलमा कुवेतले नेपाललाई हरायो

नेपाल प्रफिट

२०८१ चैत ३१, १६:४८

रोमाञ्चक फाइनलमा कुवेतले नेपाललाई हरायो

काठमाडौं । हङकङमा सम्पन्न चारदेशीय टी-२० आई शृङ्खलाको उपाधि कुवेतले हात पारेको छ । आइतबार भएको फाइनलमा नेपाललाई तीन रनले हराउँदै कुवेतले उपाधि हात पारेको हो ।

कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ओभरमा सबै विकेट गुमाउँदै १७१ रनमा सीमित बन्यो ।

नेपालका लागि बसिर अहमदले ४३ बलमा आठ चौका र चार छक्का प्रहार गर्दै ८० रन बनाए । यस्तै, नन्दन यादवले ३७ र आसिफ शेखले २१ रन भने अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

कुवेतका लागि अनुदीप चेन्थमाराले सर्वाधिक तीन विकेट लिए । यस्तै, यासिन पटेल र नवीनराज राजेन्द्रनले समान दुर्ई-दुई विकेट हात पार्दा मोहम्मद शफीक र मोहम्मद असलमले पनि समान एक-एक विकेट लिए ।

हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७४ रन बनाएको थियो । कुवेतका लागि रविजा सन्दारुवानले अर्धशतकीय पारि खेले । उनले ३६ बलमा ६ चौका र चार छक्काको मद्धतले सर्वाधिक ६३ रन बनाए ।

यस्तै, क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मीट भावसारले १६ र मोहम्मद असलमले १३ रन बनाए । अन्य कुनै खेलाडीले देहोरो अंकको रन जोड्न सकेनन् ।

नेपालका लागि सोमपाल कामी र नन्दन यादवले समान दुई-दुई विकेट लिँदा करण के.सी र कुशल भुर्तेलले एक-एक विकेट हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्