• Menu

पर्यटन राजधानी पोखरादेखि नगरकोटसम्म पर्यटकको चहलपहल, व्यवसायी उत्साहित

नेपाल प्रफिट

२०८१ चैत ३१, १६:५९

पर्यटन राजधानी पोखरादेखि नगरकोटसम्म पर्यटकको चहलपहल, व्यवसायी उत्साहित

काठमाडौं । नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको चहलपहलका कारण उत्साह थपिएको छ । वसन्त ऋतुको आगमन र विद्यालयको वार्षिक शैक्षिक बिदाका कारण अभिभावक आफ्ना सन्ततिलाई लिएर आन्तरिक पर्यटन प्रवर्धनमा निस्किएका छन् भने सरकारी कर्मचारीको पनि वार्षिक बिदा सक्नुपर्ने भएकाले बिदामा पर्यटकीय गन्तव्यमा पुगेका छन् ।

जसका कारण पूर्वको पाथीभरादेखि पश्चिमको शैलेश्वरीसम्मका धार्मिकस्थलमा अहिले धार्मिक पर्यटकको चहलपहल बढेको छ । यसले पर्यटन प्रवर्धनसँगै मुलुकको अर्थतन्त्रसमेत चलायमान हुन पुगेको छ । मुलुकभित्रका प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको छ ।

होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहका अनुसार नयाँ वर्षको पूर्वसन्ध्यामा अधिकांश पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढेको छ । ‘मुलुकभरका होटलहरुमा न्युनतम ३५ देखि झण्डै कुनै स्थानमा शतप्रतिशतसम्म अकुपेन्सी पुगेको छ । केही समय सुस्ताएको व्यवसायमा नयाँ आशा सञ्चार भएको छ ठमेल, पोखरा, सौराहा, लुम्बिनी, भेँडेटारलगायत क्षेत्रमा ‘न्यू इअर इभ’ कार्यक्रम आयोजना गरिएको छ, यसले पर्यटनलाई थप चलायमान बनाएको छ ।’

देशका प्रमुख पर्यटकीय गन्तव्यस्थल पाथीभरा, इलाम, तीनजुरे, धरान, भेडेटार, वसन्तपुर, मकालु आधार शिविर, खुम्बु क्षेत्र, सगरमाथा आधारशिविर, लुक्ला, बराहक्षेत्र, बुढासुब्बा, हलेसी, दन्तकाली, केचनाकवल, छिन्नमस्ता, जनकपुरधाम र भरततालमासमेत धेरै सङ्ख्यामा पर्यटक पुगेका छन् ।

त्यस्तै, कालिञ्चोक, चरिकोट, शैलुङ, जिरी, पाँचपोखरी, हेलम्बु, पनौती, पलाञ्चोक भगवती, चितवन राष्ट्रिय निकुञ्ज, सौराहा, हेटौंडास्थित मदनभण्डारी पार्क, पालुङ, दामन, लाङ्टाङ, गोसाइँकुण्ड, नुवाकोट दरबार, बन्दीपुर, पोखरा, गोरखादरबार क्षेत्र, कपिलवस्तु, तिलौराकोट, रामग्राम, बुटवल पाल्ला, लुम्बिनी पर्यटकको प्रमुख गन्तव्य मानिन्छन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज, ढोरपाटन, कर्णाली पुल, काँक्रे बिहार, बुलबुले ताल, शुक्लाफाँटा, दोधारा-चादनी झोलुंगे पुल, अपि सैपाल हिमाल, स्वर्गद्धारी, सुपादेउराली, बागलुङ कालिका, गलेश्वर, मुक्तिनाथ, लोमान्थाङ, दाङ, घोडाघोडी, धारापानी, शैलेश्वरी, बडिमालिका, राराताल, बागेश्वरी, स्वर्गद्धारी, रानीमल पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनेका छन् ।

पदयात्रा र पर्वतारोहणको उपयुक्त मौसम भएकाले विदेशी पर्यटक साहसिक पर्यटना लागि हिमाली क्षेत्रमा पुगिरहेका छन् । सगरमाथासहितका हिमाल आरोहण गर्न धेरै संख्यामा स्वदेशी र विदेशी आरोही आधारशिविर पुगेका छन् ।

संघीय राजधानी काठमाडौं उपत्यका मात्रै नभइ देशका अधिकांश पर्यटकीय गन्तव्यमा पर्यटकहरुको भिडभाड छ । उपत्यकाको नगरकोट, धुलिखेल, लाकुरीझञ्ज्याङ, गोदावरी, चन्द्रागिरि, खुलेखानी, चित्लाङ, शिवपुरी, ककनी, जर्सिङपौवालगायत गन्तव्यमा आन्तरिक पर्यटकको भिडभाड छ ।

दक्षिणकाली, पशुपतिनाथ, स्वयभू, बौद्धनाथ, वसन्तपुर, पाटन र भक्तपुर दरबारक्षेत्रमा पर्यटकले भरिभराउ छन् । नगरकोटस्थित नगरकोट अलमस्ट होटलका नवीन गुरुङले आफ्नो होटलमा अकुपेन्सी शतप्रतिशत रहेको उल्लेख गर्दै अन्य होटलमा पनि राम्रो अकुपेन्सी भएको बताए ।

व्यवसायी उत्साहित

नयाँ वर्षको अवसरमा पर्यटन राजधानी पोखराको पर्यटन चलायमान बनेको छ । तपापि आन्दोलनका कारण पर्यटकले केही बुकिङ् रद्ध गरेका छन् । नयाँ वर्षको सन्दर्भमा पोखरामा हरेक वर्ष तीनरचार दिन पर्यटक बढ्ने गरेको पोखरा पर्यटन विकास परिषद्का अध्यक्ष तारा पहरीले बताए ।

‘नयाँ वर्षमा पोखरामा दुईदेखि तीन दिन चहलपहल बढ्छ । विशेषगरी भारतीय र चिनियाँ पर्यटक बढी देखिएका छन्,’ उनले भने । उनका अनुसार पोखरा आसपासका गन्तव्य पर्यटकले भरिभराउ छन् । पर्यटकीय क्षेत्र लुम्बिनीमा पर्यटकको माहोल बढेको छ । पर्यटन राजधानी पोखरामा नयाँ वर्ष तथा महोत्सवले चहलपहल बढाएको छ । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान), पोखराका अध्यक्ष विश्वराज पौडेलका अनुसार यतिबेला अकुपेन्सी ७० प्रतिशतभन्दा बढी पुगेको छ ।

भैरहवास्थित सिद्धार्थ होटल संघका अध्यक्ष सिपी श्रेष्ठका अनुसार उक्त क्षेत्रमा अकुपेन्सी ३५ प्रतिशतभन्दा बढी पुगेको छ । नयाँ वर्षको आगमनले पर्यटनलाई चलायमान बनाएको उनको भनाइ छ ।

‘भैरहवाका होटलमा विशेषगरी भारतीय पर्यटकले भरिभराउ छन् । आन्तरिक पर्यटक पनि बढेका छन् । होटलहरुले विभिन्न छुट र अफर दिएका छन् । संघका अनुसार भैरहवामा पाँचतारेदेखि पर्यटकस्तरका डेढसय भन्दा बढी होटल सञ्चालनमा छन् ।’

पर्यटकीय नगरी सौराहामा पनि नयाँ वर्षको सन्दर्भमा पर्यटकको भिडभाड बढेको छ । रेस्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहाका अध्यक्ष ध्रुव गिरीका अनुसार सौराहामा आन्तरिक र विदेशी पर्यटक उल्लेख्य संख्यामा पुगेका छन् । नयाँ वर्ष विभिन्न मेला महोत्सवले पर्यटन प्रवर्धनमा टेवा पुगेको उनले बताए ।

क्षेत्रीय होटल संघ नेपाल चितवनका निवर्तमानअध्यक्ष गङ्गा गिरीका अनुसार चितवनका होटलमा रुम पाउने अवस्था छैन । ‘नयाँ वर्षमा होटलहरुको अकुपेन्सी शतप्रतिशत छ, तीन दिसम्मका लागि कुनै होटलमा रुम उपलब्ध छैनन्,’ उनले भने ।

ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डे पनि नयाँ वर्ष पर्यटनमा आशा जगाउने वर्ष हुने भएकाले पर्यटन व्यवसायमा सकारात्मक उत्साह थपिएको बताए । उनले भने,’आन्तरिक मात्र होइन विदेशी पर्यटक पनि उल्लेख्य संख्यामा आउने भएकाले पर्यटन व्यवसायीमा पनि हौसला बढेको छ ।’

बोर्डको सक्रियता

पर्यटन क्षेत्र चलायमान बनिरहेको र आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटन आकर्षणका लागि बजारीकरणलाई प्राथमिकताकासाथ अगाडि बढाइएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बोर्डले आक्रामक रुपमा अन्तरराष्ट्रिय प्रवर्धनको कार्य गरिरहएको जानकारी दिए । उनका अनुसार पछिल्लो पाँच महिनामा विदेशमा १७ वटा बिटुबी कार्यक्रम गरिएको छ ।

आन्तरिकतर्फ नेपाल इन्डिया चाइना एक्स्पो सम्पन्न भएको छ भने ‘इस्ट टुरिजम मार्ट’ सकिएको छ । सुदूपश्चिम मार्टको तयारी भइरहेको छ । अन्तरराष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट घोषणा गरिएको छ । नेपालका गन्तव्यमा विदेशी इन्फ्लुएन्सर, मिडियालाई भ्रमण गराएर पर्यटन प्रवद्र्धन गरिएको छ ।

बोर्डको तथ्यांक अनुसार सन् २०२३ मा ११ लाख ४७ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२३ मा १० लाख १५ हजार पर्यटक नेपाल भित्रिएका थिए । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए । तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको संख्या ८१ प्रतिशतले कमी आइ दुई लाख ३० हजार ८५ संख्यामा खुम्चियो ।

त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए । हवाई पूर्वाधार र सडक सञ्जाल चुस्तदुरुस्त भएमा मात्रै यो लक्ष्य भेट्टाउन सहज हुन्छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालित छ । तर, भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालनमा आउन सकेका छैनन् । भलै ती दुई विमानस्थलमा अन्तरराष्ट्रिय उडान भने सञ्चालन भइरहेको छ ।

सडक सञ्जाल र हवाई सम्पर्क सञ्जाललाई प्रभावकारी बनाउन सकेको खण्डमा मुलुकको पर्यटनले फड्को मार्ने अध्यक्ष शाहको विश्वास छ ।

नेपाल एशोसिएशन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलियाले नयाँ वर्षले पर्यटनमा सकारात्मक ऊर्जा थपिएको बताए । वर्ष २०८१ मा पर्यटन क्षेत्रमा अपेक्षा र निरासा दुबै मिश्रित रहेपनि आगामी वर्षमा पर्यटन क्षेत्रमा उत्साह थपिने उनको विश्वास छ ।

उनले भने,’भैरहवा विमानस्थलमा अन्तरराष्ट्रिय उडान भएको थियो,तर वर्षको उत्तरार्धमा उडान स्थगित भएको छ । महँगो हवाई सेवा भएको वर्षको रुपमा पनि लिन सकिन्छ, समग्रमा आशा मरेको छैन, नीतिगत फड्को मारेर परिणाम ल्याउनुपर्ने अपरिहार्यता छ ।’

नयाँ वर्षको सन्दर्मा प्रमुख पर्यटकीय गन्तव्यमा भ्रमणवर्ष जस्ता कार्यक्रम आयोजना गरेर बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने योजना छ । यसैसन्दर्भमा सन् २०२५ लाई पोखराले भ्रमणवर्षको रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

पोखरामा फेवा महोत्सव सुरु भएको छ । नयाँ वर्षको अवसरमा नगरकोटमा वैशाख १ गतेदेखि ‘नगरकोट भ्रमणवर्ष-२०८२ आयोजना हुदैछ । भ्रमण वर्षको शुभारम्भ राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने तालिका छ ।

नगरकोट क्षेत्रको प्राकृति, संस्कृति र इतिहासलाई थप प्रचारप्रसार गर्ने उद्देश्यले नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वयमा भ्रमणवर्ष हुन लागेको हो । समितिका अध्यक्ष नवीन गुरुङ्ले नयाँ वर्षको अवसरमा नगरकोटमा आन्तरिक र विदेशी पर्यटकको घुइँचो लागेको तथा महोत्सवले पर्यटनमा थप रौनक ल्याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्