मकवानपुर । मकवानपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान मकवानपुरको मकवानपुरगढीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आफ्नै घर सफा गर्ने क्रममा अचानक करेन्ट लागेर गाउँपालिका-५ सिमलटार निवासी ५५ वर्षीय भूमिनन्द तिमल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
करेन्ट लागेर सिकिस्त भएका तिमल्सिनाको हेटौंडाअस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, हेटौंडा-धरान चतरा सडकखण्डअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१६ गुरुधामचोकमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
ठूलोदमारबाट हटियातर्फ जाँदै गरेको बा प०३-०४ प ९५२६ नं को स्कुटरको ठक्करबाट पैदलयात्री स्थानीय ७६ वर्षीय अनिरुद्र बाँस्ताकोटीको मृत्यु भएको अर्यालले जानकारी दिए ।
दुर्घटनामा परेर गम्भीर घाइते बाँस्ताकोटीको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुर चितवनमा गएराति मृत्यु भएको हो ।
सोही दुर्घटनामा स्कुटर चालक हेटौंडा उपमहानगरपालिका-१७ ठूलोगँगटे निवासी २७ वर्षीय सन्दिप थापा घाइते भएको र उनको चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।