• Menu

भारतका कृषिमन्त्री शिवराज सिंह चौहानद्वारा चन्द्रागिरि हिल्सको विशेष भ्रमण

नेपाल प्रफिट

२०८१ चैत २९, शुक्रबार १२:४७

भारतका कृषिमन्त्री शिवराज सिंह चौहानद्वारा चन्द्रागिरि हिल्सको विशेष भ्रमण

काठमाडौं । भारत सरकारका कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहानसहित भारतीय राजदूत नवीन श्रीवास्तवलगायतले चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन् । मन्त्री चौहानसहितका विशिष्ट पाहुनालाई चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत अरुण प्रधानले बिहीबार स्वागत गरेका हुन् ।

भ्रमणका क्रममा मन्त्री चौहानले पर्यटकका लागि चन्द्रागिरि हिल्स उत्कृष्ट गन्तव्य बन्न पुगेको बताए । मन्त्री चौहानसहितको भ्रमण टोलीले हरियालीले ढाकिएका डाँडाकाँडा, चिसो र शान्त मौसम तथा काठमाडौँ उपत्यकाको मनोरम दृश्य हेर्दै केबलकार चढ्नु अत्यन्तै स्मरणीय अनुभव भएको सुनाए ।

भ्रमणका क्रममा मन्त्री चौहानले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिरमा परिवारसहित विशेष पूजाअर्चना गरेका छन् । उनले सो आध्यात्मिक अनुभवलाई शान्तिपूर्ण र जीवन्त स्मृति हुने बताए ।

‘मनमोहक दृश्य, शान्तिपूर्ण वातावरण तथा धार्मिक महत्त्व बोकेको चन्द्रागिरि हिल्स पर्यटनको एक उत्कृष्ट गन्तव्य हो,’ उनले भने, ‘यहाँको वातावरण, संस्कृति, र प्राकृतिक सुन्दरताले सबैलाई लोभ्याउने रहेछ ।’

चन्द्रागिरि हिल्स व्यवस्थापनले भारतका कृषि तथा किसान कल्याणमन्त्री चौहानको भ्रमणले नेपालको समग्र पर्यटनसहित धार्मिक पर्यटन प्रवर्धनमा थप सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्