काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आज पुन: बढेको हो ।
बिहीबार एकैदिन प्रतितोला पाँच हजार सात सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ८१ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर प्रतितोला एक लाख ८५ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हिजोको रेकर्ड भन्दा प्रतितोला तीन हजार नौ सय रुपैयाँले बढी हो ।
त्यसैगरी, आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार नौ सय पाँच रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज विश्व बजारमा सुन प्रतिऔंस तीन हजार दुई सय नौ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ ।