• Menu

गण्डकी-लुम्बिनी जोड्ने पक्की पुल सञ्चालनमा, डेढ घण्टाको यात्रा अब १५ मिनेटमा

नेपाल प्रफिट

२०८१ चैत २८, १३:४८

गण्डकी-लुम्बिनी जोड्ने पक्की पुल सञ्चालनमा, डेढ घण्टाको यात्रा अब १५ मिनेटमा

तनहुँ । गण्डकी र लुम्बिनी प्रदेश जोड्न तनहुँको घिरिङ गाउँपालिका-१ कालीगण्डकी नदीमाथि निर्माण गरिएको पक्की पुलबाट यातायातका साधन सञ्चालन हुन थालेका छन् ।

पुल निर्माण भएर उद्घाटन नभए पनि यहाँबाट यातायातका साधन सञ्चालन हुन थालेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले बताए ।

पुल निर्माणले गण्डकी प्रदेशअन्तर्गत तनहुँको घिरिङ गाउँपालिका-१ पुट्टार र लुम्बिनी प्रदेशअन्तर्गत पाल्पाको रामपुर नगरपालिका-१ स्याउली बजार जोडेको छ । सिग्देलले भने, ‘तनहुँतर्फको भाग पुलसँग जोडिएको छ । पाल्पातर्फको भागमा माटोले सतह मिलाएर यातायात सञ्चालनमा ल्याइएको छ, केही समयभित्रै व्यवस्थापन गरी पुलको उद्घाटन गरिने छ ।’

पुल निर्माणकोकाम युनाइटेड विल्डर्सले पाएको थियो । कूल २१० मिटर लामो उक्त पुल पश्चिमक्षेत्र सेक्टर नं ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण गरिएको हो । डबल लेन प्रविधिमा निर्माण भएको पुल निर्माणमा २७ करोड लगानी भएको छ ।

कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य थिए । पुल नहुँदा नजिकै रहेको स्याउली बजार जान पनि घुमेर जाँदा टाढा पथ्र्यो । पुल निर्माण भएपछि सहज रूपमा आवातजावात गर्न सकिन्छ ।

डेढ घण्टाको बाटो १५ मिनेटमा छोटियो

घिरिङ गाउँपालिका-२ र ३ जोड्ने चिन्नेखोलामा झोलुंगे पुल निर्माण भएपछि डेढ घण्टाको बाटो १५ मिनेटमा छोटिएको छ । चिन्नखोलामा ९२ मिटर लामो झोलुंगे पुल बनेपछि यात्रा अवधि छोटिएको हो ।

यहाँ पुल नहुँदा यस भेगका जनताले घुमाउरो बाटो हिँड्नुपर्नेमा पुल बनेपछि सहज भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर थापाले बताए । उनले भने, ‘यहाँ पुल नहुँदा यस भेगका जनतालाई दुःख थियो, पुल बनेपछि सहज भयो ।’

४५ लाख ६८ हजार १९२ को लागतमा झोलुंगे पुल निर्माण गरिएको हो । पुल निर्माणका लागि गैरसरकारी संस्था समन्वय समिति तनहुँले सामाजिक तथा प्राविधिक सहयोग गरेको थियो ।

उक्त संस्थाका महासचिव राजेश्वर हड्खलेले पुल निर्माणका लागि गाउँपालिकाले पाँच लाख ९५ हजार ९८५ लागत साझेदारी गरेको जानकारी दिए । त्यस्तै स्थानीयवासीले ८९ हजार २४२ बराबरको श्रमदान गरेका थिए । संघीय झोलुंगे पुल क्षेत्रगत कार्यक्रममार्फत ३८ लाख ६७ हजार ७७३ विनियोजन भएको थियो ।

पुल निर्माणका लागि उपभोक्ता समितिसँग २०८१ वैशाख १६ गते सम्झौता भएको थियो । २०८१ सालकात्तिक १५ गतेबाट पुल निर्माण सुरु गरिएको र २०८२ सालअसार १५ गतेसम्म म्याद रहेकामा म्याद अगावै पुल निर्माणको काम सकिएको हड्खलेले बताए । पुल निर्माणपश्चात ११८ घरपरिवारका ९५४ जना लाभान्वित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्