पर्सा । लामो समयको खडेरीपछिको वर्षाले किसानलाई राहत महसुस गराएको छ ।
जल तथा मौसम विज्ञान फिल्ड कार्यालय सिमराका अनुसार बिहीबार बिहान पर्सामा ७२ मिलीमिटर र बारामा ८.५ मिलीमिटर वर्षा भएको छ । वीरगन्ज महानगर-२१ पटेल नगरका शिवहरि पटेलले वर्षात्को पानीले चैतेधानको लागि फाइदा पुगेको बताए । ‘खडेरीले सबै फसल सुक्न लागिसकेको थियो,’ उनले भने, ‘वर्षात्ले केही हदसम्म भए पनि राहत महसुस गराएको छ ।’
पछिल्लो समय तराई-मधेसमा गहुँ काट्ने सिजन चलिरहेको छ । चैतेधान तथा मकैखेती सिजन सुरु भएको छ । वीरगन्ज महानगर-२४ बहुअरीका किसान सितासमा चौहानले वर्षात्को पानीले तरकारीखेती गर्नका लागि सहज भएको बताए । पर्सामा ४७ हजार १०३ हेक्टरमा धानखेती हुने गर्छ ।
त्यसैगरी पर्वत संवाददाताका अनुसार छ महिना लामो खडेरीपछि वर्षा हुँदा कृषकहरूले राहत महसुस गरेका छन् ।
खडेरीले हिउँदे खेती प्रभावित भएपछि निरास बनेका कृषकहरू बुधवार रातीदेखिको वर्षापछि हर्षित भएका हुन् । वर्षा नहुँदा मकै सुक्न थालेका थिएभने कोदो र धानको बीउ उम्रिन सकेको थिएन ।
वर्षा नभएका कारण गहुँ, आलु, जौ, फापरलगायतको खेती फस्टाउन नपाएको कृषि ज्ञान केन्द्र पर्वतका वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले बताए । जिल्लामा सिंचाई सुविधा पुगेको आठ हजार हेक्टर बाहेक अधिकांश स्थानका कृषकहरू आकाशे पानीमा निर्भर छन् ।
‘खडेरीका कारण मकै गोडमेल गर्न पाईएको थिएन, अब सहज भएको छ,’ ठुलीपोखरीका कृषक रामप्रसाद सापकोटाले भने । ढिलोगरी वर्षा भएपनि बारीमा मकै लगाउन, लहरेवालीलगायत विभिन्न तरकारी र वर्खे आलु खेती गर्न सहज भएको कृषकहरूको भनाई छ ।
कृषि ज्ञान केन्द्रका अनुसार खडेरीका कारण हिउँदे खेती उत्पादनमा ४० प्रतिशतले ह्रास आएको छ । सबैभन्दा धेरै तेलहन र गहुँवाली प्रभावित भएको बरिष्ठ कृषि विकास अधिकृत अधिकारीले जानकारी दिए ।