• Menu

फागुनमा महँगी वृद्धिदर ३.७५ प्रतिशतमा सीमित, गण्डकी प्रदेशमा सबैभन्दा कम मूल्यवृद्धि

नेपाल प्रफिट

२०८१ चैत २७, बुधबार २०:४५

फागुनमा महँगी वृद्धिदर ३.७५ प्रतिशतमा सीमित, गण्डकी प्रदेशमा सबैभन्दा कम मूल्यवृद्धि

काठमाडौं । नेपालको महँगी वृद्धिदर घट्दो दरमा रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ८ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार २०८१ फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशत रहेको हो ।

गत वर्षको फागुनमा मुद्रास्फीति ४.८२ प्रतिशत थियो । फागुनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९७ प्रतिशत छ । गत वर्ष फागुनमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ५.९५ प्रतिशत र ४.०७ प्रतिशत थियो ।

फागुनमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १३.७४ प्रतिशत, दाल तथा गेडागुडीको ७.८० प्रतिशत, फलफूलको ६.८२ प्रतिशत र गैरमदिराजन्य पेयपदार्थको ५.१५ प्रतिशतले बढेको छ । मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.१७ प्रतिशत, तरकारीको १.२४ प्रतिशत र माछा तथा मासुको ०.७४ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.१४ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ७.०१ प्रतिशत, मदिराजन्य पेयपदार्थको ६.०७ प्रतिशत, फर्निसिब तथा घरायसी उपकरणको ५.५९ प्रतिशत र यातायातको ५.०७ प्रतिशतले बढेको छ ।

फागुनमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.१८ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.६० प्रतिशतले बढेको छ । प्रदेशगत रुपमा फागुनमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६८ प्रतिशत, मधेसको ३.५२ प्रतिशत, बागमतीको २.९८ प्रतिशत, गण्डकीको २.७७ प्रतिशत, लुम्बिनीको ३.७७ प्रतिशत, कर्णालीको ३.८० प्रतिशत र सुदूरपश्चिमको ४.४१ प्रतिशत छ ।

फागुनमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत, तराईको ३.७७ प्रतिशत, पहाडको ३.७२ प्रतिशत र हिमालको ४.७७ प्रतिशत छ । २०८१ फागुनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.४३ प्रतिशत छ । गत वर्ष फागुनमा मुद्रास्फीति ३.६९ प्रतिशत थियो ।

फागुनमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ८.०२ प्रतिशत, २.५७ प्रतिशत र ३.१७ प्रतिशत छ । फागुनमा निर्माण सामग्रीको थोक मुद्रास्फीति १.६३ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्