• Menu

डढेलोले चैत मध्यभित्रै लियो विकराल रूप, पाल्पाका ३६ जंगलमा आगलागी, ७११ हेक्टर वन क्षेत्र सखाप

नेपाल प्रफिट

२०८१ चैत २६, १०:३७

डढेलोले चैत मध्यभित्रै लियो विकराल रूप, पाल्पाका ३६ जंगलमा आगलागी, ७११ हेक्टर वन क्षेत्र सखाप

पाल्पा । लामो समयको खडेरीले पाल्पाका अधिकांश जंगलमा डढेलो लाग्न थालेको छ । हालसम्म ३६ सामुदायिक तथा सरकारी जंगलमा लागेको डढेलोले ७११ हेक्टर क्षेत्रफल नष्ट गरेको छ ।

अधिकांश वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी बनेका छन् । जंगलमा दिनदिनै बढेको डढेलोले दुई वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ । डढेलोले वयस्क र पुराना रुख पनि नष्ट गरेको कार्यालयका प्रमुख नारायणदेव भट्टराईले बताए ।

चैत लागेसँगै बढेको डढेलोले वन क्षेत्र उजाड बनेको छ । अहिले रुखबिरुवाले पालुवा फेर्न र झारेका पुराना पात सुकेकाले पनि वनमा लाग्ने डढेलोले आगो चाँडै फैलने गरेको उनले जनाए । क्षेत्रमा दिनदिनै बढेको डढेलोले रुखबिरुवा सखाप हुनुका साथै नजिकका बस्ती पनि आगलागीको जोखिममा परेकाले उच्च सतर्कता अपनाउन उनले सबैलाई आग्रह गरे ।

यसपाली हिउँदे वर्षा नभएकाले डढेलो झन् फैलिएको स्थानीय बताउँछन् । हिउँदे वर्षाले रुखबिरुवाले झारेका पातपतिंगर भिजाउँदा आगो ढिलो फैलिने विगतको अनुभव उनीहरुसँग छ । वन क्षेत्रनजिकका बासिन्दा यसपाली हिउँदे वर्षा नहुँदा चैत मध्यभित्रै डढेलोले विकराल रूप लिएको बताउँछन् ।

विशेषगरी जंगलनजिकैका बस्तीका नागरिक आगो लाग्नासाथ चिन्तित हुन्छन् । जंगलमा लागेको आगो घरमा आउने डरले उनीहरु चिन्तित छन् । वसन्त र ग्रीष्म ऋतु विशेषगरी डढेलो जोखिमको समय मानिन्छ । डढेलोका कारण वर्षभरि भएको हरियाली वन क्षणभरमा नष्ट हुन्छ । यस वर्ष पनि गर्मी मौसम सुरु हुनासाथ डढेलोका घटना बढेको वन प्रमुख भट्टराईले बताए ।

तिनाउ गाउँपालिका-३ झुम्साको खुलखुले सामुदायिक वन, झुम्साको वसन्तपुरनजिक ओढारखोला, सरागखोला, कचलको काम्लेटटरी, मसिना, सिद्धचुहार, तरुले सामुदायिक वन, झिँगामारा, रिङसिङ वन, तिनाउ गाउँपालिका-२ को सुकेताल र खुर्सानेनजिकैको जंगल, रम्भा गाउँपालिकाअन्तर्गत पर्ने रिमिघा डाँडा जंगल, रिब्दीकोट गाउँपालिकाको पालुङ सामुदायिक वनलगायत जंगलमा डढेलो लागिरहेको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ ।

निस्दीको ज्यामिरे अरुणखोलास्थित जंगल, ज्यामिरेको वेभोके, बतासा, मठेखर्क, क्षेत्रीखर्क, माथागढीको रहवास, हात्तीलुङलगायत स्थानमा पनि डढेलो लागेको कार्यालयका प्रमुख भट्टराईले जानकारी दिए । उनका अनुसार स्थानीय बस्ती जोगाउन सफल भए पनि मानवीय क्षतिसहित जंगल, केही घरगोठ र भौतिक संरचनामा क्षति भएका छन् ।

हालसम्म जंगलमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ भने १६ वटा घरगोठ जलेका छन् । सामुदायिक वनमा लागेको डढेलो निभाउने लिने प्रयासले सार्थकता नपाउँदा हावाहुरीले पुनः सल्किने समस्या छ । तिनाउ, रिब्दीकोट, बगनासकाली, तानसेन र रैनादेवी छहरामा बढी डढेलो लागेको छ ।

अधिकांश डढेलो लागेको जंगलनजिकै बस्ती छन् । ती बस्तीमा हावाहुरीले कुनै पनि समय डढेलो छिर्ने डरले स्थानीय रातभर सुत्न सक्दैनन् । हरेक वर्ष लाग्ने आगोका कारण रातभर निदाउनै नसकिने रिब्दीकोटकी भिमा कार्कीले बताइन् । ‘अघिल्लो वर्ष नजिकैको जंगलमा लागेको आगो बस्तीमा पसेको थियो, आगोबाट बल्लबल्ल बस्ती जोगाउन सफल भए पनि पटकपटकको डढेलोले रातमा निन्द्रा लाग्दैन,’ उनले भनिन् ।

पहिले पनि छिमेकीको घर जलेको उनले बताइन् । ‘के गर्नु विपत्तिको अगाडि कसैको केही लाग्दो रहेनछ,’ उनले दु:ख पोखिन् । उनी घरमा एक्लै छिन् । भन्छिन्, ‘भगवानलाई सम्झिँदै बस्नुपरेको छ ।’

डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले मातहतका कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघ, सामुदायिक वन, स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय निकायले दैनिक प्रयास गरे पनि सफल हुन नसकेको जनाइएको छ । सुक्खा मौसम तीव्रगतिमा चलेको हावाहुरी, चुरे तथा महाभारत क्षेत्रको भू-बनोटले गर्दा डढेलो नियन्त्रणबाहिर गएको डिभिजन वन कार्यालयले जनाएको छ ।

दमकलले बस्तीनजिकको आगो निभाए पनि जंगलको आगो भने निभाउन नसकिएको वन कार्यालय प्रमुख भट्टराईले बताए । उनका अनुसार पाल्पाका १० स्थानीय तहका ८१ वडामध्ये ३९ वटा वडाका वन, जंगल डढेलोको उच्च जोखिममा छन् भने २६ वडा मध्यम र १६ वडा न्यून जोखिममा छन् ।

प्रमुख भट्टराईका अनुसार डढेलो नियन्त्रणका लागि पाल्पाका वनमा अग्निरेखा बनाउने र भएका अग्निरेखा सरसफाइ गर्ने काम भइरहेको छ । ‘गर्मी मौसम सुरु भएसँगै आगलागीका घटना बढ्दै गएपछि वन कार्यालयले डढेलो नियन्त्रणका लागि पूर्वसावधानी अपनाउँदै अग्निरेखा बनाउने कार्यलाई भने तीव्रता दिएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्