• Menu

अधिकारीको कार्यकाल सकिँदा पनि नयाँ गभर्नर नियुक्ति अन्योलमै, वरिष्ठ डेपुटी गभर्नरलाई कामुको जिम्मेवारी

नेपाल प्रफिट

२०८१ चैत २५, १३:३८

अधिकारीको कार्यकाल सकिँदा पनि नयाँ गभर्नर नियुक्ति अन्योलमै, वरिष्ठ डेपुटी गभर्नरलाई कामुको जिम्मेवारी

काठमाडौं । सरकारले निलम ढुंगाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिएको छ । अर्थ मन्त्रालयले सोमबार वरिष्ठ डेपुटी गभर्नर तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिएको जानकारी गराएको हो ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिएको अर्थ मन्त्रालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

नियुक्तिमा राजनीतिक भागबण्डाको सिकार बनेपछि केन्द्रीय बैंक गभर्नरविहीन बनेको छ । सत्तासीन नेपाली कांग्रेस र नेकपा (एमाले)ले अनुभव र क्षमताभन्दा पनि आफ्ना मान्छेलाई गभर्नर बनाउन खेलेको पैँठेजोरीले गभर्नर नियुक्ति पेचिलो बन्दै गएको छ ।

कांग्रेस र एमालेले पनि विचौलियाको दबाबमा निर्णय लिने गरेका कारण गभर्नर नियुक्त चरम राजनीतिकरण भएको जानकारहरुले बताएका छन् । उनीहरुका अनुसार गभर्नर नियुक्तिमा विचौलिया-विचौलियाबीच नै टक्कर छ ।

त्यसमाथि विचौलियाकै सिफारिसमा अघि बढाइएका नामहरुमा कांग्रेस र एमाले सहमत हुन सकेका छैनन् । कांग्रेस सभापति शेरबहादुर देउवाले अर्थशास्त्रको ज्ञान न्यून भएका पूर्वप्रशासक राजेन्द्रकिशोर क्षेत्रीलाई अघि सारेपछि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बिच्किएका छन् ।

त्यस्तै ओलीले अघि बढाएका नाममा देउवा सहमत भएका छैनन् । दुवैले अघि बढाएका नाम अर्थतन्त्रका जानकार भन्दा पनि स्वार्थअनुकूलका छन् । अर्थतन्त्रमाथि निराशाको बादल मडारिइरहेका बेला मौद्रिक नीति निर्माण गर्ने ठाउँमै दक्षता र विशेषज्ञता नभएका मानिस आउनसक्ने चिन्ता थपिएको छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आजैबाट सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्