• Menu

सभापति रवि लामिछाने भैरहवा कारागार चलान

नेपाल प्रफिट

२०८१ चैत २५, ११:५७

सभापति रवि लामिछाने भैरहवा कारागार चलान

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई भैरहवा कारागार पठाइएको छ । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगीसम्बन्धी मुद्दामा उच्च अदालतको आदेशअनुसार उनलाई सोमबार जिल्ला अदालत रुपन्देहीबाट थुनुवा पुर्जी दिइ जिल्ला कारागार भैरहवा चलान गरिएको हो ।

उनलाई शुक्रबार राति काठमाडौं बूढानीलकण्ठस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि चैत २३ गते शनिबार बिहान यति एअरलाइन्सको विमानमार्फत उनलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको थियो । विमानस्थलबाट लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको थियो ।

सरकारी बिदाको कारण उनलाई दुई दिन हिरासतमा राखिएको र सोमबार अदालतमा उपस्थित गराई थुनुवा आदेशअनुसार जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिए । अदालतको अन्तिम निर्णय नआउँदासम्म उनी कारागारमै रहने छन् ।

यसअघि जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर उक्त आदेशविरुद्ध सरकारी वकिल तथा लामिछाने पक्ष दुवैले उच्च अदालतमा पुनरावेदन गरेका थिए । पुनरावेदनको सुनुवाइपछि उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाउँदै लामिछानेलाई थुनामा राख्न आदेश दिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्