मुस्ताङ । राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक सहज हुँदै जान थालेपछि पोखरा-जोमसोम हवाई उडानको संख्या दुई तिहाइले घटेको छ । पर्यटकीय यामका बेला निकै चहलपहल हुने जोमसोम नागरिक उड्डयन कार्यालयको जोमसोम विमानस्थलमा हवाई यात्रुको चहलपहल पहिलेको जस्तो देखिँदैन ।
हिमाली जिल्ला मुस्ताङमा बिहानको समयम मात्रै साना ट्विनअटर जहाजहरुले पोखरा-जोमसोम हवाई सेवाको उडान भर्ने गर्थे । तर, बिहानको समयमा जोमसोम विमानस्थल पुग्ने हो भने सीमित हवाई यात्रुबाहेक अन्य कोही हुँदैनन् ।
राष्ट्रिय राजमार्ग सुरु हुनुअघि पोखरा-जोमसाम हवाई यात्रा गर्दै दैनिक तीन सय बढी पर्यटक मुस्ताङ आउने गरेका थिए । अहिले त्यो संख्या आधाभन्दा कममा झरेको छ । यसको कारण हो स्तरोन्नति हुँदै गरेको कोरला सडक । म्याग्दीको बेनीदेखि मुस्ताङको मुक्तिनाथसम्म दुई तिहाईभन्दा बढी कच्ची सडक कालोपत्र भइसकेको छ ।
सडक कालोपत्र भएकै कारण हवाई यात्रुको संख्या घट्दा विगतका वर्षभन्दा यसपाली हवाई उडान घट्न पुगेको जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख केशव लम्सालले जानकारी दिए । ‘कोरला सडक स्तरोन्नति हुनुअगावै १८ वटासम्म हवाई उडान हुने गरेको हाम्रो रेकर्डमा छ,’ उनले भने, ‘अहिले हवाई यात्रा गर्ने कतिपय पर्यटक सडक मार्ग हुँदै मुस्ताङ आउजाउ गर्छन् ।’
हिउँदयामको समाप्ति र वसन्त ऋतुको आगमनसँगै यो समय मुस्ताङ घुम्ने उपयुक्त अनुकूल समय हो । यद्यपि, यो समयमा पोखराबाट हवाई मार्ग हुँदै मुस्ताङ आउने पर्यटक सडक मार्गबाट आउने गर्दा उडान घटेको तारा एयरलाइन्सका जोमसोम व्यवस्थापक सुजन लालचनले बताए ।
‘पहिला हामीलाई यात्रुवर्गलाई टिकट उपलब्ध गराउनै हम्मेहम्मे पर्थ्यो, पोखरा जोमसोम टु वे कै टिकट काटेर आउने हवाई यात्रुले गर्दा नेपाली पर्यटकसहित स्थानीय र कर्मचारीलाई हवाई टिकट छैन भन्नुपर्थ्यो,’ उनले भने, ‘अहिले पोखराबाट आतेजातेको टिकट लिएर नआएमा यहाँबाट जहाज नै खाली पठाउनु अवस्था छ, पछिल्लो वर्षमा झनै यस्तो समस्य थपिएर उडान क्रमशः घट्ने अवस्था देखिएको छ ।’
पोखराबाट भारतीय पर्यटकले मुक्तिनाथको दर्शन गरी भोलिपल्टै फर्किने गरी दुईतर्फी हवाई टिकट लिने गरेको भए पनि अन्य मुलुकका पर्यटकले भने एकतर्फी टिकट लिएर हवाईयात्रा गर्ने भएकाले जोमसोमबाट प्रायः जहाज खाली-खाली पठाउनुपर्ने अवस्था रहेको समिट एयरलाइन्सका जोमसोमका व्यवस्थापक सुमन थकालीको भनाइ छ ।
पहिला-पहिला जोमसोमबाट स्थानीय र कर्मचारी यात्रु पनि जहाजको यात्रा गर्न खोज्थे । अहिले सडक बाटो राम्रो भएकाले यहाँबाट अधिकांश यात्रु सडक मार्गबाटै पोखरा झर्ने गर्छन् ।
पोखरा जोमसोम हवाई उडान घट्नुको अर्को कारण सुरक्षित हवाई यात्रामा चुनौती पनि हो । पोखरा-जोमसोम हवाई मार्गमा ५–६ वटा हवाई दुर्घटना भइसकेको छ । बढ्दो हवाई जोखिमलाई न्यूनीकरण नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ नियम र थप निगरानी बढाउन थालेपछि हवाई उडान घट्न पुगेको विश्लेषण गरिएको छ ।
यसो त (पोखरा-जोमसोम) हवाई यात्राका लागि सम्बन्धित ट्राभल एजेन्सीहरुले टिकट बुकिङ गर्ने गरे पनि उडान रद्द हुँदा तत्कालै सडक मार्गबाट यात्रुलाई मुस्ताङ पठाउने गर्दा हवाई उडान घटेको व्यवस्थापक थकालीले उल्लेख गरे । ट्राभल कम्पनीले हवाई टिकट बुकिङ गरे पनि सडक मार्गबाट यात्रा गराउँदा हवाई टिकटको आधा भाडा बचत हुने भएकाले पनि पहिलेको जस्तो जहाज कुरेर बस्ने नगरेको उनले बताए ।
जहाजको टिकटमा बुकिङ गरेर गाडीमा पठाउँदा ट्राभल कम्पनीलाई आर्थिक लाभ हुने उनले बताए । राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक सहज बनेपछि अधिकांश पर्यटक सडक मार्ग हुँदै मुस्ताङ आउने गरेको पाइएको छ । सडक मार्गको सहजता र सस्तो मूल्यमा यात्रा गर्न पाइने र सवारीसाधन पनि भनेको समयमा उपलब्ध हुने भएकाले सडक मार्गबाट यात्रा गर्ने पर्यटकको संख्या वृद्धि भएको हो ।
मुस्ताङका स्थानीय नागरिक, कर्मचारी, सुरक्षाकर्मी, मजदुर र सामान्य व्यक्तिसमेत सडक मार्गबाट आवतजावत गर्ने गरेका छन् । अहिले दैनिक पोखरा-जोमसोम हवाई उडान दैनिक ५-६ वटा मात्रै हुने गरेको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ । यसमा यात्रा गर्ने ८० प्रतिशत भारतीय र २० प्रतिशत अन्य मुलुकका विदेशी पर्यटक हुन्छन् ।
निर्माणाधीन राष्ट्रिय गौरवको बेनी-जोमसोम सडक आयोजना कार्यान्वयनमा आउनअघि अनुकूल मौसममा (पोखरा-जोमसोम) हवाई उडान दैनिक १८ वटासम्म हुने गर्थ्यो । साना जहाजलाई अनुकूल समयमा यात्रु ओसारपोसार गर्न भ्याइनभ्याई हुन्थ्यो । भारतीय र तेस्रो मुलकका विदेशी पर्यटकले मात्रै टिकट पाउँथे । नेपाली आन्तरिक पर्यटकलाई पोखरा-जोमसोम हवाई टिकट पाउन निकै कठिन पर्थ्यो ।
हवाई टिकट मूल्यमा एकरुपता नहुँदा नेपाली पर्यटकका साथै मुस्ताङबासीले समेत हवाई यात्रा गर्न निकै सास्ती खप्नुपर्थ्यो । स्वदेशी हवाई यात्रुभन्दा विदेशी पर्यटकको हवाई यात्रु टिकटमा दोब्बर-तेब्बर मूल्य पर्ने भएकाले सम्बन्धित निजी एयरलाइन्स कम्पनीहरुले स्वदेशीलाई हवाई टिकट दिन खोज्दैनथ्ये ।
कुनै दुर्घटना भयो वा सिकिस्त बिरामी परेको बखतमा मात्रै स्वास्थ्य चौकी वा अस्पतालको सिफारिसमा उनीहरुले हवाई टिकट उपलब्ध गराउँथे । पोखरा-जोमसोम हवाई यात्रा गर्नुपर्दा यात्रुलाई निकै नै संघर्ष गर्नुपर्थ्यो । तर, अहिले त्यो समय पूरै फेरिएको छ ।
(रासस)
Copyright © Nepal Profit - 2025 / Developed By Webtech Nepal