• Menu

देशभर १३ लाख भूमिहीन, आयोगका अध्यक्ष रिजाल भन्छन्- अध्यादेश अनुमोदन नगर्नु सरकारको खेलाँची

नेपाल प्रफिट

२०८१ चैत २५, १०:४८

देशभर १३ लाख भूमिहीन, आयोगका अध्यक्ष रिजाल भन्छन्- अध्यादेश अनुमोदन नगर्नु सरकारको खेलाँची

झापा । झापामा ५१ हजार ९१७ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा धनीपुर्जाका लागि निवेदन दिएका छन् । मेचीनगर नगरपालिकाको सभाहलमा सोमबार आयोजित भूमिसम्बन्धी अन्तर्क्रियामा राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले प्रक्रिया पूरा गरेर धनीपुर्जा वितरण गर्न आयोगले तीव्र गतिमा काम गरिरहेको बताए ।

सरकारले पुस अन्तिम साता व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिका लागि भन्दै २९ अध्यादेश ल्याएको थियो । आर्थिक तथा व्यावसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धिसम्बन्धी ११, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवासम्बन्धी १३ र भूमि तथा वनसम्बन्धी तीन गरी २७ ऐनमा अध्यादेशमार्फत संशोधन गरिएको हो ।

त्यस्तै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ र निजीकरण ऐन २०५० मा पनि दुई छुट्टा-छुट्टै अध्यादेश पनि जारी गरिएको थियो । तर, भूमि तथा वनसम्बन्धी संसदबाट पारित हुन नसक्दा निष्क्रिय हुने भएको छ । अध्यादेश जारी भएको ६० दिनभित्र संसदबाट पारित नभएर स्वत: निष्क्रिय हुने व्यवस्था छ ।

अध्यक्ष रिजालले भूमिसम्बन्धी अध्यादेश अनुमोदन नगरेर भूमिहीनको अधिकारमाथि खेलवाड भएको आरोप लगाए । उनले वर्तमान भूमि आयोग पहिलेका तीनवटा आयोगभन्दा फरक रहेको दाबी गर्दै अहिलेको आयोग संवैधानिक आयोग भएको र यसको कार्यकाल तीन वर्ष तोकिएको जानकारी दिए ।

कार्यक्रममा आयोगका केन्द्रीय सदस्य एवं कोशी प्रदेश संयोजक अनिलकृष्ण प्रसाईंले अबको दुई वर्षभित्र नेपालका १३ लाख सुकुम्बासीलाई धनीपुर्जा वितरण गरिने बताए । कार्यक्रममा भूमि आयोगका झापा अध्यक्ष मदन अधिकारीले विचौलियासँग सहकार्य नगरी पालिकामार्फत प्रक्रिया पूरा गरेर आएका निवेदन दर्ता गरेर चाँडै धनीपुर्जा वितरण गरिने आश्वासन दिए ।

राष्ट्रिय भूमि आयोगका केन्द्रीय विज्ञ डा. जगतबहादुर बस्नेतले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई आयोगको काम, कर्तव्य र अधिकारसहित भावी कार्ययोजनाका बारेमा जानकारी दिए ।

मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले वास्तविक हकदारलाई जग्गाको धनीपुर्जा वितरण गर्ने तयारी भइरहेको बताए । उनले मेचीनगरमा ६ हजार ३३० भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीले धनीपुर्जाका लागि निवेदन दिएको जानकारी गराए । ‘तीमध्ये पाँच हजार १५१ जनाले निस्सा प्राप्त गरिसकेका छन्,’ उनले भने ।

मेचीनगरमा भूमिहीन दलित ३५८ जना, भूमिहीन सुकुमबासी दुई हजार २४६ जना र र अव्यवस्थित बसोबासी तीन हजार ७२६ जना गरी ६ हजार ३३० जनाले धनीपुर्जा पाउनका लागि नगरपालिकामा निवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्