काभ्रे । काभ्रेपलाञ्चोकको कोशीपूर्वका दुई सडक स्तरोन्नति भइरहेका छन् । अरनिको राजमार्गसँग जोडिएको दोलालघाट-फलाँटे-कोलाँती-पोखरीचौरी-गुराँसे खण्डअन्तर्गत दोलालघाट-फलाँटे-कोलाँती खण्ड र सोही खण्डसँग जोडिएको भुम्लु गाउँपालिकास्थित हबेली-सापिङ-सिम्थली-बेखसिम्ले-वाफल खण्ड स्तरोन्नति भइरहेको हो ।
बागमती प्रदेश सरकारको ग्रामीण सडक सञ्जाल सुधार आयोजना (एएफ) आयोजना कार्यान्वयन इकाई भक्तपुरमार्फत ६.५ किलोमिटर सडक विस्तार भइरहेको आयोजना कार्यालयले जनाएको छ ।
गत असोजको बाढीपहिरोले करिब १.५ किमी सडक क्षतिग्रस्त बनाएपछि उक्त क्षेत्रमा नयाँ डिजाइन गर्नुपर्ने आयोजना कार्यालयका कार्यक्रम व्यवस्थापक उषेश श्रेष्ठले जानकारी दिए । नयाँ डिजाइन नहुँदासम्म यो क्षेत्रमा काम गर्ने अवस्था नरहेको उनको भनाइ छ ।
श्रेष्ठका अनुसार विस्तारित सडकमा हाल नाली, टेवा पर्खाल, ग्याबिन निर्माण अन्तिम चरणमा पुगेको छ । आगामी सातादेखि ग्रेडिङको काम गर्नेगरी निर्माण कम्पनीले तयारी गरिरहेको उनले बताए । एसियाली विकास बैंक (एडिबी)को लगानीमा बन्धन-भगवती निर्माण कम्पनीले २०८० सालचैत १३ गते दुई वर्षमा सम्पन्न गर्नेगरी १२ करोडमा ठेक्का लिएको थियो ।
हालसम्म २५ प्रतिशत आर्थिक प्रगति र ४० प्रतिशत भौतिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षभित्र ‘असपाल्ट’ प्रविधिबाट कालोपत्र गर्ने तयारी गरिएको निर्माण कम्पनीले जनाएको छ ।
यसैबीच, गत साता बागमती प्रदेशसभाका सांसद लक्ष्मण लम्सालले निर्माणाधीन सडक अनुगमन गरी तोकिएको समयभित्रै काम सम्पन्न गर्न आयोजना तथा निर्माण कम्पनीका प्रतिनिधिलाई आग्रह गरे ।
हबेली-सापिङ-सिम्थली-बेखसिम्ले-वाफल सडकअन्तर्गत हबेली-सापिङ खण्डमा कालोपत्र सुरु गरिएको छ । प्रदेश सरकारको बजेटबाट स्तरोन्नति थालिएकामा शुक्रबार ‘प्राइम’ हालेपछि आजदेखि पिच बिछ्याउने काम थालिएको निर्माण कम्पनीका व्यवस्थापक प्रदीप गौतमले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा तीन किमी २०० मिटर असपाल्ट प्रविधिबाट कालोपत्र र चार सय मिटर ढलानको काम हुनेछ । नौ करोड ३२ लाख ६५ हजार ५०० मा पूर्वाधार विकास कार्यालय धुलिखेलले गत मंसिरमा पिएसकेरएभरेष्ट जेभीसँग ठेक्का सम्झौता गरेको थियो । उक्त आयोजना आगामी मंसिरसम्म सम्पन्न गर्ने समयसीमा तोकिएको छ ।
कम्पनीका व्यवस्थापक गौतमले निर्धारित समयावधि अगावै ठेक्का सम्पन्न गर्नेगरी तीव्रगतिमा काम भइरहेको जानकारी दिए ।