• Menu

कोसेरा खोलामा ३३ लाखको लागतमा पुल निर्माण

नेपाल प्रफिट

२०८१ चैत २४, ११:१२

कोसेरा खोलामा ३३ लाखको लागतमा पुल निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-८ कुइनेको कोसेरा खोलामा ‘स्टिल ट्रस’ प्रविधिको पुल निर्माण भएको छ । ३३ लाख २४ हजार एक सय ६७ को लागतमा निर्माण भएको ३२ मिटर लामो पुलबाट एक सय घरपरिवारका ४८५ जनसंख्या लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष दिनेश छन्त्यालले जानकारी दिए ।

‘खोलामा बाढी आउँदा जोखिम मोलेर वारपार गर्नुपर्ने समस्या पुल बनेपछि हटेको छ,’ उनले भने, ‘अब ढुक्क भएर सुरक्षित रूपमा खोला वारपार गर्न पाइने भयो ।’ रघुगङ्गा गाउँपालिका, उपभोक्ता र झोलुंगे पुल क्षेत्रगत सहयोग कार्यक्रमको सहकार्यमा पुल निर्माण भएको हो । पुल निर्माणका लागि गैरसरकारी संस्था मिलन म्याग्दीले सामाजिक तथा प्राविधिक सहयोग गरेको थियो ।

रघुगङ्गा गाउँपालिकाले चार लाख ७२ हजार ४७७ र झोलुंगे पुल क्षेत्रगत कार्यक्रमले ३० लाख ८९ हजार २७३ सहयोग गरेको पुल निर्माणमा उपभोक्ताले ७२ हजार ६८८ बराबरको श्रमदान गरेका छन् ।

जिल्लामा झोलुंगे पुल निर्माणसम्बन्धी योजनाको सामुदायिक परिचालनको काम गर्दै आएको गैरसरकारी संस्था मिलनका अध्यक्ष दिलु बिटालुका अनुसार चालु आर्थिक वर्षको हालसम्म धवलागिरि गाउँपालिकामा दुईवटा, रघुगङ्गा र बेनी नगरपालिकामा एक-एकवटा झोलुंगे पुल निर्माण भएको छ ।

आव २०८०/८१ मा छ र आर्थिक वर्ष २०७९/८० मा नौ झोलुंगे पुल निर्माण भएको थियो । मिलन म्याग्दीको अभिलेखअनुसार जिल्लाभर २९१ झोलुंगे पुल छन् ।

झोलुंगे पुल निर्माण भएपछि खोलामा जोखिमपूर्ण र घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता हटेको, बाटोको दूरी छोटिएको, पर्यटक, स्थानीयवासी र विद्यार्थीलाई आवातजावतमा सहज भएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्