काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनले सम्पूर्ण मानव जातिको अस्तित्वमा संकट उत्पन्न गरेको बताएका छन् । थाइल्याण्डको बैंककमा जारी छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालका लागि यो जोखिम अझ बढी रहेको उल्लेख गरे ।
‘यहाँका पहाडले विश्वव्यापी तापक्रम घटाउने काममा योगदान पुर्याइरहेका छन्, तर हाम्रो तर्फबाट भएको न्यून कार्बन उत्सर्जनका बाबजुद पनि तिनीहरूले असमान आक्रमणको सामना गर्नुपरिरहेको छ । यसको प्रभाव पहाडहरूमा मात्र नभई तल्लो तराई र तटीय क्षेत्रहरूमा पनि फैलिएको छ,’ ओलीले भने ।
प्रधानमन्त्री ओलीले जलवायुको प्रभाव हिमालमा मात्र सीमित नभई तराई र तटीय क्षेत्रहरूमा पनि परेको बताए । ‘हिमालहरूको पीडा र हिमाल तथा समुद्रबीचको सम्बन्धलाई उजागर गर्न, नेपालले आगामी मे महिनामा सगरमाथा संवादको पहिलो संस्करण आयोजना गर्दैछ र म यहाँहरू धेरैलाई त्यहाँ देख्न उत्सुक छु,’ उनले भने ।
जलवायुको प्रभावका कारण तटीय क्षेत्रहरूमा पनि समुद्री सतह बढिरहेको र आँधीका घटना तीव्र हुँदै गइरहेको उल्लेख गर्दै उनले बिम्स्टेक क्षेत्रले हिमपहिरो, चक्रवात, मेघगर्जनसहितको वर्षा, तातो हावा र खडेरीजस्ता चरम मौसमी घटनाहरूको सामना गरिरहेको बताए । ‘हाम्रा जनता र हाम्रो भविष्यको रक्षा गर्न हामीले निर्णायक रूपमा कार्य गर्नु अनिवार्य छ, जलवायु परिवर्तनसम्बन्धी मुद्दामा सामुहिक रुपमा काम गर्न जरुरी छ,’ ओलीले भने ।
उनले जलविद्युत क्षेत्रमा लगानी गरेर सीमापार ऊर्जा ग्रीड र नवीकरणीय ऊर्जा परियोजनामार्फत क्षेत्रीय ऊर्जा व्यापार बढाउनपर्ने आवश्यकता औँल्याए । साथै उनले बढ्दो व्यापार तनाव र आपूर्ति शृङ्खला अवरोध हटाउँदै द्रुत प्राविधिक परिवर्तनलाई आत्मसाथ गरी सहकार्य गर्नुपर्नेमा जोड दिए ।
‘विपद् पूर्वतयारी, सार्वजनिक स्वास्थ्य सेवा र समावेशी आर्थिक नीतिहरू हाम्रो क्षेत्रीय मुद्दाको केन्द्रमा रहनुपर्छ, सामाजिक र सांस्कृतिक सद्भावलाई प्रवद्र्धन गरिनुपर्छ, र समुदायको बलियो भावनालाई बढावा दिनुपर्छ,’ ओलीले भने, ‘दिगो विकास लक्ष्यहरूलाई राष्ट्रिय र क्षेत्रीय नीतिगत ढाँचाहरूसँग एकीकृत गरी न्यायपूर्ण, समावेशी ढंगबाट सम्बोधन गर्नुपर्छ ।’
सम्मेलनको सफलता र बिम्स्टेक सदस्य राष्ट्रका जनताको चिरस्थायी शान्ति, कल्याण र समृद्धिका लागि आफू तीन करोड नेपाली जनताको सन्देश लिएर यहाँ आएको उल्लेख गर्दै उनले थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात र सरकारलाई न्यानो आतिथ्यता र शिखर सम्मेलन आयोजनाका लागि प्रशंसा र आभार व्यक्त गरे । साथै उनले विनाशकारी भूकम्पका कारण भएको धनजनको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट म्यानमार तथा थाइल्याण्डका सरकार एवम् जनताप्रति समवेदना र सहानुभूति व्यक्त गरे ।
‘बिम्स्टेकको सुरुआत यही सहरबाट भएको पनि दुई दशकभन्दा बढी भइसकेको छ । यस अवधिमा हामीले बङ्गालको खाडी क्षेत्र र त्यसभन्दा पर आमूल परिवर्तन र रूपान्तरण देखेका छौं,’ उनले भने, ‘यी दुई दशकमा बङ्गालको खाडी विश्वव्यापी आर्थिक परिदृश्यमा सबैभन्दा तीव्र गतिमा विकास भइरहेका क्षेत्रमा परेको छ, तथापि चुनौतीहरू कायमै छन् । शान्ति र समृद्धिको खोजी जारी छ ।’
सम्मेलनको विषयले हामीलाई मार्गनिर्देश गर्छ
आर्थिक असमानता, वातावरणीय जोखिम र राजनीतिक अनिश्चितताका चुनौतीका बीचमा बिम्स्टेकलाई कुशलतापूर्वक अघि बढाउनु आवश्यक छ । साथै क्षेत्रीय सहयोगलाई पुनःजीवित गर्न समेत जरुरी रहेको उनको भनाइ थियो । ‘म विश्वास गर्छु कि, शिखर सम्मेलनको विषय ‘सम्पन्न, उत्थानशील र खुला बिम्स्टेक’ले हामीलाई त्यो मार्गनिर्देश प्रदान गर्दछ,’ उनले भने ।
बिम्स्टेकले दुई गतिशील क्षेत्रहरू दक्षिण एसिया र दक्षिणपूर्वी एसिया बीचको एक अद्वितीय सहकार्यको उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले एक अद्वितीय पुलको रूपमा यसले एक अर्ब ८० करोडभन्दा बढी जनताको सामूहिक आकांक्षालाई समेट्ने बताए ।
दिगो विकासका लक्ष्यहरू सम्पन्नता, उत्थानशीलता र खुलापनसँग नेपालको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’सँग पनि गहिरो रूपमा प्रतिध्वनित रहेको उनको भनाइ थियो । ‘आजको विषय केवल एक नारा होइन, यो कार्य गर्नका लागि आह्वान हो । यी तीन प्राथमिकताहरूले हाम्रो आगामी मार्ग तय गर्नेछन्,’ ओलीले भने ।
बिम्स्टेक क्षेत्र प्राकृतिक स्रोत, सांस्कृतिक विविधता र युवा जनशक्तिले समृद्ध रहेको र हिमालय शृङ्खलादेखि बंगालको तटसम्म प्रचुर सम्भावनाले भरिपूर्ण रहेको उनले उल्लेख गर्नुभयो । यस क्षेत्रको अपार सम्भावनालाई ध्यानमा राख्दै समृद्धि केवल इच्छा मात्र होइन यो प्राप्त गर्न सकिने लक्ष्य समेत भएको उनको भनाइ थियो ।
‘तर लक्ष्यमा पुग्न हामीले यसलाई रणनीतिक रूपमा उपयोग गर्नुपर्छस यसलाई दिगो रूपमा मानव पुँजीमा लगानी गर्नु आवश्यक छ,’ उनले भने ।
काठमाडौंमा भएको चौथो बिम्स्टेक शिखर सम्मेलनले शिक्षा, सीप विकास र क्षमता अभिवृद्धिमा क्षेत्रीय सहयोगको महत्त्वमा जोड दिएको अवगत गराउँदै प्रधानमन्त्री ओलीले क्षेत्रीय अन्तरआबद्धता हाम्रो समृद्धिको खोजीमा एक महत्त्वपूर्ण स्तम्भ रहेको उल्लेख गरे ।
‘बजार र मस्तिष्कको अन्तरआबद्धता, पूर्वाधार र विचारहरूको अन्तरआबद्धता, संस्कृति र साइबरको अन्तरआबद्धता विकासको अर्को मेरुदण्ड हो,’ उनले भने ।
बिम्स्टेकको समृद्धिका लागि अन्तरआबद्धतामा जोड
बिम्स्टेक यातायात अन्तरआबद्धता गुरुयोजना र बिम्स्टेक सामुद्रिक यातायात सहयोग सम्झौताको समयबद्ध कार्यान्वयनले यस सम्बन्धमा महत्त्वपूर्ण प्रगति ल्याउने उनको भनाइ थियो । ‘यो चिन्ताको विषय हो कि बिम्स्टेकमा अन्तर-क्षेत्रीय व्यापार केवल पाँच प्रतिशत मात्र छ, जुन ‘आसियान’, ‘ईयु’ वा ‘नाफ्टा’को तुलनामा धेरै कम छ,’ उनले भने । हाम्रो समाज, अर्थतन्त्र र राष्ट्रहरूबीचको प्राकृतिक अन्तरसम्बन्ध बाहेक, हाम्रो क्षेत्र विश्वव्यापी रूपमा सबैभन्दा कम एकीकृत क्षेत्रहरूमध्ये पर्ने बताउँदै उनले यो परिवर्तन हुनैपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले यो सम्भावनालाई उजागर गर्न र हामीसँग भएका स्रोत र साधनहरुको लाभ उठाउन एक एकीकृत बंगालको खाडी क्षेत्र निर्माण गर्नु अनिवार्य रहेकामा जोड दिए । उनले यस क्षेत्रका सबै अर्थतन्त्रहरू समान छैनन् भन्ने स्वीकार गर्दै, विशेष आवश्यकता भएका सदस्य राष्ट्रहरूलाई साझा समृद्धिमा सहभागी हुन सक्षम बनाउन विशेष अवसर प्रदान गर्नुपर्ने उल्लेख गरे ।
आज विश्व एक दोबाटोमा रहेको र विगत केही वर्षहरूमा, पारिस्थितिकीदेखि अर्थतन्त्र, व्यापार तनावदेखि प्राविधिक अवरोध, जलवायु परिवर्तनदेखि द्वन्द्व, महामारीको पीडादेखि ध्रुवीकरणको खतरासम्मका अनिश्चितको विश्वमा उत्थानशीलता सबैभन्दा बलियो प्रतिरक्षा भएको उनको भनाइ थियो ।
एक जीवन्त र गतिशील बिम्स्टेकका लागि, खुलापन आधारशिला भएको बताउँदै उनले राजनीतिक, आर्थिक, पारिस्थितिक र सांस्कृतिक सरोकारहरूलाई समग्र रूपमा सम्बोधन गर्ने दीर्घकालीन स्थायित्वका लागि आवश्यकता औल्याए । ‘हामीले दिगो पर्यटन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सम्बन्ध, र सीमापार लगानीमार्फत जनस्तरको सम्पर्कलाई बलियो बनाउनुपर्छ,’ उनले भने ।
बिम्स्टेकभित्र भिसा-अन-अराइभल नीतिले यात्रालाई सहज बनाउन र गहिरो क्षेत्रीय सम्बन्धहरूलाई बढावा दिन एउटा गेम-चेन्जर (परिवर्तनकारी) हुने उनको भनाइ थियो ।
‘हामीले ई-कमर्श, सीमापार भुक्तानी र विद्युतीय शासनलाई सहज बनाउन डिजिटल एकीकरणलाई प्राथमिकता दिनुपर्छ,’ ओलीले भने । नवीनतालाई बढावा दिन र साझा चुनौतीहरू जलवायु परिवर्तनदेखि खाद्य सुरक्षा, प्रविधि-सञ्चालित आर्थिक रूपान्तरणसम्मलाई सम्बोधन गर्न अनुसन्धान र विकासलाई प्राथमिकता दिनुपर्ने उनको जोड थियो ।
कुनै पनि बिम्स्टेक राष्ट्र पछाडि नछुटोस् भन्ने सुनिश्चित गर्नु सामूहिक जिम्मेवारी भएको उल्लेख गर्दै उनले बिम्स्टेक बडापत्र र यसले कायम राखेका सिद्धान्तहरूप्रति नेपालाको प्रतिबद्धता दोहोर्याए ।
‘हामी जनस्तरको सम्पर्क क्षेत्रको नेतृत्व गर्न पाउँदा गर्व गर्दछौं र प्राथमिकताका क्षेत्रहरूमा साझेदारीलाई अझ बलियो बनाउन तत्पर छौं,’ ओलीले भने, ‘हामी एक ऐतिहासिक मोडमा उभिएका छौं, आउनुहोस् बङगालको खाडीलाई एक सम्पन्न, उत्थानशील र खुला क्षेत्रमा रूपान्तरण गर्ने हाम्रो अटल प्रतिबद्धतालाई पुनः पुष्टि गरौं ।’
प्रधानमन्त्री ओलीले हाम्रो शक्ति एकतामा निहित रहेको र बलियो सहकार्यमा चम्किने उल्लेख गर्दै भने, ‘भविष्य उनीहरूकै हो जसले तत्परता र दूरदृष्टिका साथ काम गर्छन् । म नेपालमा जन्मिएका शान्तिका अग्रदुत भगवान बुद्धका ज्ञानी शब्दहरूबाट मेरो भनाइ टुङ्ग्याउन चाहन्छु । तिमीले जतिसुकै पवित्र शब्दहरू पढे पनि, जतिसुकै बोले पनि, यदि तिमी तिनलाई व्यवहारमा उतार्दैनौ भने तिनले तिम्रो के भलो गर्छन् र ?’
उनले यस क्षेत्रका जनता र भावी पुस्ताका लागि परिणाम दिने बिम्स्टेक निर्माण गर्न हाम्रा शब्दहरूलाई कार्यमा परिणत गर्न आग्रह गर्दै यस क्षेत्रलाई सम्पन्नता, उत्थानशीलता र खुलापनको गतिशील केन्द्रमा रूपान्तरण गर्नुपर्ने उल्लेख गरे ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले बिम्स्टेक राष्ट्रका अध्यक्षका हैसियतले थाइल्याण्डले विगत तीन वर्षदेखि बिम्स्टेक प्रक्रियालाई दूरदृष्टिका साथ अगाडि बढाएकामा प्रशंसा गरे । उनले छिमेकी बंगलादेशलाई आगामी अध्यक्षका रूपमा बिम्स्टेकको नेतृत्व गर्न शुभकामना व्यक्त गर्दै दृढ समर्थनको विश्वास समेत दिलाए ।
Copyright © Nepal Profit - 2025 / Developed By Webtech Nepal