• Menu

काठमाडौं महानगरमा रोकिएका कर्मचारीको तलबको लागि प्रशासकीय अधिकृतले तोक लगाइदिए

नेपाल प्रफिट

२०८१ चैत २२, शुक्रबार १२:५८

काठमाडौं महानगरमा रोकिएका कर्मचारीको तलबको लागि प्रशासकीय अधिकृतले तोक लगाइदिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले रोकिएका कर्मचारीहरूको तलबका लागि तोक लगाइदिएका छन् । शुक्रवार कार्यालय समयमा उनले कर्मचारीहरूलाई सोमबारसम्म तलब प्राप्त हुने आश्वासन दिएका छन् ।

महानगरपालिकाका एक उच्च अधिकारीका अनुसार, गुरागाईंले शुक्रबार तलबको तोक लगाइदिएपछि कर्मचारीहरूलाई सोमबारसम्म तलब मिल्ने कुरा सुनिश्चित भएको छ ।

यसअघि, गत पुस ७ देखि बिदामा रहेका गुरागाईं बिहीबार कार्यालय हाजिर भएका थिए। उनी कार्यालय फर्किएलगत्तै महानगरमा केही तनाव उत्पन्न भएको थियो, जसको कारण महानगर प्रहरीलाई पनि खटाइएको थियो । यद्यपि, कर्मचारीहरूले उनलाई रोक्न नदिँदै कार्यकक्षासम्म पुर्‍याएका थिए ।

बिदामा राखिएको गुरागाईंको स्थानमा नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन भएको थियो । यसले गर्दा कर्मचारीहरूमा आक्रोश फैलिएको थियो, र उनीहरूले तलबका लागि दबाब दिएका थिए ।

अब, गुरागाईंले तलबको समस्या समाधान गर्दै कर्मचारीहरूलाई सोमबारसम्म तलब दिने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्