काठमाडौं । हावाको गति बढेसँगै आज वायु प्रदूषणको मात्रा पनि घटेको छ । केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरको रूपमा सूचीकृत भएको काठमाडौँ उपत्यका शुक्रबार भने प्रदूषणको मात्रा घटेर सातौँ नं मा सूचीकृत भएको छ ।
‘एयर क्वालिटि इन्डेक्स’ को तथ्यांक अनुसार बिहीबार मध्यान्हमा पनि पहिलो प्रदूषित सहरमा सूचीकृत भई वायु प्रदूषण तीन सय ४८ एक्यूआईसम्म पुगेको थियो । आज भने यो समाचार तयार गर्दासम्म प्रदूषण घटेर एक सय ४७ एक्यूआईमा झरेको छ । नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०-५० हुँदा राम्रो, ५१-१०० हुँदा मध्यम, १०१-१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको संकेत गर्दछ ।
वन तथा वातावरण मन्त्रालय, वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले शुक्रबार हावाको गति बढेकाले प्रदूषणको मात्रा घटेर विश्वको पहिलो प्रदूषित सहरबाट सातौँमा पुगेको बताए ।
‘काठमाडौँ कचौरा आकारमा पनि छ । पानी परेमा सतहमा रहेको प्रदूषण तल खस्छ र हावा चल्दा उपत्यकामा थुप्रिएर बसेको प्रदूषण उडाएर लैजान्छ,’ उनले भने, ‘प्रदूषण न्यूनीकरणका लागि विभागले व्यापक रूपमा जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिएको छ, प्रदूषण गराउनेलाई निर्देशनसहितको सुझाव दिइरहेका छौँ । यसैगरी वातावरण विभाग र अन्य सरोकार भएका निकायबीचको समन्वय जरूरी छ ।’