• Menu

नेपाललाई क्षेत्रीय आइटी हब बनाउन सकिन्छ : मन्त्री गुरुङ

नेपाल प्रफिट

२०८१ चैत १८, १७:५३

नेपाललाई क्षेत्रीय आइटी हब बनाउन सकिन्छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाललाई क्षेत्रीय आइटी हबका रुपमा विकास गर्न सकिने धारणा व्यक्त गरेका छन् ।

एसिया प्यासिफिक टेलिकम्युनिटी (एपिटी), सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणद्वारा सोमबार आयोजित ३४औँ मिटिङ अफ द एपिटी वायरलेस ग्रुपको कार्यक्रममा उनले यसका लागि मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए ।

आइटी हबको विकासका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी नीति ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै उनले प्रमुख सहरमा फाइभजी सेवा विस्तार गर्ने योजना रहेको उल्लेख गरे । ‘आगामी आर्थिक वर्षको अन्त्यसम्म सबै स्थानीय तहमा ब्रोडब्यान्ड सेवा विस्तार र मुलुकका प्रमुख सहरमा फाइभजी सेवा विस्तार गर्छौ,’ उनले भने ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले प्रभावकारी सञ्चार आर्थिक वृद्धि, अन्तरआबद्धता र नवीनताका लागि जरुरी भएको बताए । उनले भने, ‘वायरलेस प्रविधि नेपाल जस्तो पहाडी र हिमाली देशका लागि वरदान हो । सूचना प्रविधि र डिजिटल अर्थतन्त्रको सम्भावना भएका क्षेत्रलाई एकीकृत गर्ने समय आएको छ ।’

उनले नेपाललाई क्षेत्रीय आइटी केन्द्रका रुपमा विकास गर्न एपिटीसँग सहकार्य जरुरी भएको बताए । उनले नेपाल डिजिटाइजेसनलाई बढावा दिन, स्पेक्ट्रम दक्षता प्रवर्धन गर्न र नयाँ पुस्ताको सञ्चार प्रविधि अँगाल्न तयार रहेको समेत बताए ।

त्यस अवसरमा सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले नेपालले सूचना प्रविधिको विस्तार तथा विकासमा फड्को मार्दै गइरहेको बताए । उनले यसका लागि मन्त्रालयले काम गरिरहेको उल्लेख गरे ।

एपिटीका महासचिव मासानोरी कोन्डोले स्पेक्ट्रम हार्मोनाइजेनस, रेडियो कम्युनिकेशन र यसका बहुराष्ट्रिय प्रभावबारे छलफलका लागि यो एक सशक्त समूह रहेको बताए । उनले ती विषयमा १२ वटा सिफारिस र १८४ वटा प्रतिवेदन तयार भइसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्