काठमाडौं । काठमाडौंमा चार दिनदेखि हराइरहेका एक युवकको शव गाडिएको अवस्थामा फेला परेको छ । यस घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत बिहारका २९ वर्षीय सुनिल शर्मा, सर्लाही चक्रघट्टा-१ का २२ वर्षीय निपु मण्डल, चक्रघट्टा-६ का १८ वर्षीय विजय यादव, १८ वर्षीय करन कुमार महतो, २३ वर्षीय जोधन मण्डल र ४५ वर्षीय उत्तम मण्डल रहेका छन् ।
काठमाडौं गोकर्णेश्वर बाहुनधारामा बस्दै आएका १९ वर्षीय राहुल साहको हत्या आरोपमा उनीहरू पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार राहुल ११ चैतदेखि हराइरहेका थिए, जसको बारेमा प्रहरी वृत्त बौद्धमा उजुरी दर्ता गरिएको थियो ।
अनुसन्धानको क्रममा १५ चैतमा माकलबारीस्थित आरके मोटरसाइकल वर्कसपको पछाडिको जमिनमा उनको शव गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका आधारमा लेनदेन सम्बन्धी विवादका कारण उनीहरूको झगडा भएको र सोही क्रममा राहुलको हत्या गरिएको खुलेको एसपी बोहोराले बताए । घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।