• Menu

सामाजिक सदभाव कायम राख्दै ईद मनाइयो

नेपाल प्रफिट

२०८१ चैत १८, ११:०४

सामाजिक सदभाव कायम राख्दै ईद मनाइयो

पर्सा । पर्सामा इस्लाम धर्मावलम्बीहरुले ईद-उल-फित्र (ईद) सामाजिक सद्भाव कायम राख्दै मनाएका छन् । इस्लाम समुदायले पर्सामा रहेका ईदगाह तथा मस्जिदमा नमाज (प्रार्थना) गर्दै ईद पर्व हर्षौल्लाससहित मनाएका हुन् ।

वीरगन्ज महानगरपालिका-२ स्थित ईदगाहचोकमा हजारौँ संख्यामा मुस्लिम समुदायले एकापसमा खुसी साटासाट गरेर ईद मनाएका छन् । वीरगन्जका हिन्दू समुदायका धर्मावलम्बीले रमजानको अवसरमा इस्लाम समुदायका व्यक्तिलाई ‘इफ्तार’को आयोजना गरेर शुभकामना आदानप्रदान गर्दै आएका छन् । यसले यहाँका समुदायबीच धार्मिक सहिष्णुता र भ्रातृत्वको विकास गराउँदै आइरहेको छ ।

वीरगन्ज महानगरपालिका उपप्रमुख इम्तियाज आलमले हिन्दू र मुस्लिम समुदाय पुर्खौँदेखि सद्भाव र सहिष्णुता कायम राख्दै आएका बताए । ‘सदियौँदेखि हिन्दू र मुस्लिम समुदायले एकअर्काको चाडपर्वमा सामेल हुँदै आएका छौँ,’ उनले भने, ‘यसले सामाजिक सद्भाव र एकता कायम राख्न मद्दत पुर्‍याउँदै आएको छ ।’

वीरगन्ज-२ छपकैयाँका नावाफ मियाँ सिद्धिकीले चाडपर्वलाई सामाजिक सद्भाव र भ्रातृत्व कायम गर्ने माध्यमका रूपमा अघि बढाउनुपर्ने बताए । ‘वीरगन्जमा सबै धर्मावलम्बी एकापसमा सद्भाव कायम गरेर बसोबास गर्दै आएका छन्,’ उनले भने ।

वीरगन्जका मस्जिद तथा ईदगाहमा बालकदेखि ज्येष्ठ नागरिक उपस्थित भएका छन् । ‘हामी ईदको अवसरमा एक महिनासम्म भोकै बसेर रोजा ‘व्रत’ बस्यौँ । नमाज पढेर रोजा तोडेका छौँ,’ मुस्लिम समुदायका अगुवा मन्सुर अहम्मदले भने, ‘आज हामीले घरमा इष्टमित्र बोलाएर सेबई र अरु मीठो परिकार खाने र खुवाउने परम्परा छ ।’

ईदका दिन मुस्लिम समुदायका बर्तालु बिहानै मस्जिद र ईदगाहमा पुगी सामूहिक नमाज पढेर आफू तथा आफ्नो परिवारको तर्फबाट भएको गल्तीको क्षमायाचना गर्दै अल्लाह (भगवान)सँग आशीर्वाद लिने गर्दछन् । वीरगन्जमा ईदगाहचोक, छपकैया, मुली, नगवा, नयकाटोलालगायत स्थानमा पुगी नमाज पढेर दुवाअर्थात् आशीर्वाद मागेको दृश्य देखिन्थ्यो । नमाज पढेर सकेपछि मुस्लिम समुदायले एकापसमा अंकमाल गर्दै ईदको शुभकामना साटासाट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्