काठमाडौं । नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल खेल ‘एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३’ भव्य उद्घाटन समारोहका साथ शनिबारबाट सुरु भएको छ । पहिलो दिनको ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स एफसीबीचको खेल बराबरीमा टुंगिएको छ ।
खेल सुरु हुनु भन्दा पहिला हाल एकमदै चर्चामा रहेका गायक दुर्गेश थापाले सांगीतिक प्रस्तुति राख्दै दशरथ रंगशालामा उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरे ।
खेलमा ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स एफसी दुवैले २-२ गोल गरे । खेलको ‘एनसेल भ्यालुएबल प्लेयर अफ द म्याच’ काठमाडौं रेजर्स एफसीका भिनसेन्ट कोजिएलो भएका छन् । यो सिजनभर खेलिने प्रत्येक खेलमा ‘एनसेल भ्यालुएबल प्लेयर अफ द म्याच’ पाउने खेलाडीलाई एनसेलले ३० हजार रुपैयाँ नगद पुरस्कार र ५ हजार रुपैयाँको रिचार्ज भौचर प्रदान पनि गर्छ । आइतबारको खेल साँझ ६ बजे बुटबल लुम्बिनी एफसी र झापा एफसीबीच हुने तालिका छ ।
एनसेल प्रमुख प्रायोजक रहेको यो सिजनमा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी सहित सात टिमहरू उपाधि जित्नका लागि कडा प्रतिस्पर्धा गर्नेछन् । यो प्रतियोगिता फुटबलप्रेमीका लागि उत्साहजनक र रोमाञ्चक क्षण हुनेछ ।
हालै मात्र एनसेलले ललितपुर सिटी एफसीसँग सहकार्य गर्दै ‘पावर्ड बाई’ प्रायोजकको रुपमा सम्झौता पनि गरेको थियो । खेलकुद तथा युवा प्रतिभाको विकासमा एनसेल सधैं प्रतिबद्ध रहँदै आएको छ । एनसेल एनएसएलले नेपाली फुटबल खेलाडीलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्नुका साथै यो खेलको विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ ।
‘हाम्रा सहकार्यहरुले खेलकुद क्षेत्रप्रति एनसेलको गहिरो सम्मान र आकर्षणलाई प्रतिबिम्बित गर्छ । आफ्नो थिम ‘हामी तपाईंकै लागि’मा आधारित रही हामी यस सिजनमार्फत नेपाली फुटबल खेलाडीलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्न चाहन्छौं र देशलाई गर्व गराउने अवसरहरुको सिर्जना गर्न चाहन्छौं,’ एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने, ‘सबैको प्रिय खेल भएकाले यसको विकासका लागि सहकार्य गर्न पाएकोमा धेरै खुसी छौं । यो सिजनमा अझै उत्साह थप्न र रोमाञ्चक बनाउन हामी केही दिनमा नै ग्राहकका लागि विशेष अफर पनि ल्याउने तयारीमा रहेका छौं ।’
सहकार्यअन्तर्गत एनसेलले नेपालमा फुटबलको प्रवर्धन गर्दै नेपाली फुटबलप्रेमीको मनपर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्नेछ । साथै, यसले नेपालका उदयीमान खेलाडीलाई प्रतिभा देखाउने मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ । सिजन अवधिभर ३४ खेल खेलिनेछन् र वैशाख १३ मा फाइनल खेलसहित यो सिजनको समापन हुनेछ ।
एनएसएलसँगको एनसेलको सहकार्य नेपाली खेल प्रतिभाको प्रवर्धनमात्र नभई खेललाई मन पराउने दर्शक र फ्यानहरूलाई पनि लक्षित छ, जसका कारण यस्ता प्रतियोगिता सफल हुने गर्छन् ।
एक जिम्मेवार कर्पोरेट संस्थाका रूपमा एनसेलले खेलकुद विकास र प्रतिभा निखार्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ र व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत रही एनसेल फाउन्डेसनमार्फ पारा खेलाडीको सीप विकास र प्रशिक्षणका लागि सहयोग गर्दै आएको छ ।