काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडलहरु अगाडि बढाउन एड्भाइजरी सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईएफसीको एफआईजी, एसिया र प्यासिफिक रिजनल इन्ड्रस्ट्री डाइरेक्टर एलेन फोर्लेमुले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार विश्व बैंक समूहअन्तर्गत रहेको आईएफसीले ग्लोबल आइएमई बैंकको डिजिटल रुपान्तरण तथा डाटा म्याचुरिटी मूल्यांकन गर्ने, सुधार गर्न आवश्यक रहेका क्षेत्र पहिचान गर्ने र बैंकको डिजिटल बैंकिङ क्षमता अभिवृद्धि गर्नका लागि रणनीतिक सुझाव प्रदान गर्नेछ ।
साथै, आईएफसीले एम्बेडेड फाइनान्स मोडेलहरु प्रवर्धन गर्न फिनटेकको सम्भाव्यता अध्ययन गरी ग्लोबल आइएमई बैंकलाई सल्लाह प्रदान गर्नेछ । समझदारीपश्चात बैंकमा उपलब्ध विभिन्न सेवा तथा सुविधालाई रुपान्तरण गरी नवीन र प्रविधीमैत्री सेवा विकास गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।
ग्लोबल आइएमई बैंकले ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको डिजिटल बैंकिङ सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी दिएको छ । यस सम्झौताले बैंकको डिजिटल बैंकिङको प्रवर्धनमा सहयोग पुग्नुका साथै फिनटेकमा नयाँ-नयाँ विकास र प्रयोग गर्न सहयोग पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बताए ।
डिजिटल बैंकिङ र फिनटेक साझेदारीमा आईएफसीले विश्वभरबाट आर्जन गरेको ज्ञान र अनुभवले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुबाट फरक-फरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवा प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायतका देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
विश्व बैंक समूहको सदस्य संस्था आईएफसीले विकासशील देशहरुमा निजी क्षेत्रको प्रवर्धन र विकास, आर्थिक वृद्धि र गरिबी न्यूनीकरणमा काम गर्छ ।