अढाई दशकको व्यावसायिक यात्रामा आइएमई ग्रुपले बैंक तथा वित्तीय क्षेत्र, बिमा, पर्यटन तथा आतिथ्य, पर्यटन पूर्वाधार, म्यानुफ्याक्चरिङ, जलविद्युतलगायत क्षेत्रमा अनेकौं उद्योग र परियोजना सञ्चालन गरिसकेको छ । आइएमई ग्रुपअन्तर्गतका कम्पनीमा २५ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यति नै वा त्यसभन्दा बढीलाई स्वरोजगार बनाउन पनि हामीले सहयोग गरेका छौं ।
आज उद्घाटन गरिएको यस काठमाडौं टेक्निकल स्कुलको औपचारिक सञ्चालनसँगै अब आइएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको छ । यस स्कुलले थप हजारौं युवालाई रोजगार वा स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास मलाई छ ।
नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा नयाँ युगको सुरुवात गर्ने लक्ष्यका साथ स्थापना गरिएको यस स्कुलले विशेष गरी रोजगारी, शिक्षा, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक योगदान दिने अपेक्षा छ । नेपालको परिप्रेक्षमा व्यक्तिगत तथा पारिवारिक समृद्धिका साथै देशको विकासमा दक्ष जनशक्तिको आवश्यकता र महत्वलाई दृष्टिगत गर्दै आइएमई ग्रुपले यस क्षेत्रमा कदम चालेको हो ।
आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेसनलहरु उत्पादन गर्ने लक्ष्यका साथ हामीले यो पहल लिएका हौँ । यसका लागि यस स्कुलले तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधाहरुमा तालिम सञ्चालन गर्नेछ ।
आधुनिक विश्वमा प्राविधिक शिक्षा विकल्प होइन, आवश्यकता बनिसकेको छ । पहिले जस्तो विश्वविद्यालयको डिग्री लिनैपर्ने र त्यस्तो अध्ययन गर्न नसक्ने वा नभ्याउनेहरुले प्राविधिक शिक्षा पढ्ने अवस्था अहिले छैन । अझ अघिल्लो पुस्तासम्म त नेपालमा विद्यालय तहको पढाइमा राम्रो नतिजा हासिल गर्न नसक्नेले मात्र प्राविधिक शिक्षा वा तालिम लिने सोच थियो, जुन कतिपयमा अद्यपि कायम छ ।
तर, अहिले आफूलाई दक्ष र अब्बल सावित गर्नमात्र होइन, आफूले चाहेको क्षेत्रमा जागिर पाउन वा आफ्नै व्यवसाय थाल्नका लागि प्राविधिक शिक्षा अपरिहार्य बनेको हामीले देखेका छौं । अभिभावक र विद्यार्थीहरु स्वस्फूर्त यसतर्फ आकर्षित भइरहेका छन् ।
अबको शिक्षाको मोडल पनि यस्तै बन्नुपर्छ । विद्यालय तहको अनिवार्य शिक्षा हासिल गरिसकेपछि प्राविधिक विषयको अध्ययन वा तालिम सक्ने, अनि रोजगार वा स्वरोजगार बन्दै अन्य प्राज्ञिक विषयको अध्ययन अघि बढाउने ।
त्यसैले सरकारले पनि प्राविधिक स्कुल तथा तालिम केन्द्रहरुको स्थापना र सञ्चालनलाई प्रोत्साहन तथा सहयोग गर्नुपर्छ । विश्वका अनेक मुलुक र हाम्रा छिमकी भारत र चीनले इनोभेसन, उत्पादकत्व र आर्थिक वृद्धिलाई टेवा दिनका लागि सीपमूलक क्षिक्षाको उच्च उपयोग गरेको देखिन्छ ।
इन्जिनियरिङ, स्वास्थ्य, सूचना तथा सञ्चार प्रविधि, होटल तथा पर्यटन, कृषि वा अन्य धेरै क्षेत्रमा प्राविधिक ज्ञानले उद्योगलाई आकार दिन र समाजलाई परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । नेपालमा पनि सरकारले राष्ट्र निर्माण तथा आर्थिक उन्नतिमा प्राविधिक शिक्षाको महत्वपूर्ण भूमिका रहेको कुरालाई आत्मसात् गरेको देखिन्छ । सीपमूलक शिक्षा तथा व्यावसायिक प्रशिक्षणलाई प्रवर्धन गर्न विभिन्न नीति तथा पहलहरु थालिएका छन् ।
यस्ता नीति तथा अभियानलाई सार्थक बनाउन नेपालमा उचित मूल्यमा गुणस्तरीय शिक्षा र प्रशिक्षण प्रदान गर्न सक्ने शिक्षालयहरुको आवश्यकता छ । सीटीईभीटीमा मात्र सीमित प्राविधिक तथा व्यावसायिक शिक्षामा अहिले स्वदेशी तथा विदेशी विश्वविद्यालयहरुको समेत प्रवेश भइसकेको छ । यसबाट पनि यसको महत्व र गम्भीरता पुष्टि हुन्छ ।
अहिले नेपालले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौती के हो ? भनेर सोध्यो भने यहाँहरुमध्ये अकिांशले सेकेन्ड पनि खेर नफाली जवाफ दिनुहुनेछ- बेरोजगारी तथा युवाशक्ति पलायन ।
त्यसो भए हाम्रा युवा किन यसरी देश छाडिरहेका छन् ? के यो उनीहरुको रहर हो ? परिवारबाट बिछोडिएर अनि देश र समाजबाट टाढिएर विरानो मुलुकमा बस्ने ?
हामी सबैलाई थाहा छ, यो उनीहरुको बाध्यता हो । हो केही संख्यामा युवा बिदेसिनुपर्छ । नयाँ–नयाँ विषय अध्ययन गरी ज्ञान यहाँ भित्र्याउनुपर्छ । नयाँ रोजगारी तथा सीपका अवसर भित्र्याउनुपर्छ । तर, सकी-नसकी ऋणधन गरेर थ्रिडी भनिने डर्टी, डेन्जरस र डिमिनिङ काम गर्न अर्काको देशमा जानुपर्ने अवस्था पक्कै पनि सन्तोषको कुरा होइन ।
पछिल्ला तथ्यांकअनुसार गत आर्थिक वर्षमा नयाँ र नवीकरण गरी ७ लाख १४ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । त्यस्तै अनौपचारिक माध्यमबाट विदेशमा काम गर्न जाने नेपालको संख्या पनि उल्लेख्य छ । त्यसको अर्थ हो, एक दिनमा झन्डै २ हजार नेपालीले कामकै लागि मुलुक छाडिरहेका छन् । विदेशमा पढ्न र तालिम लिन जानेको संख्या पनि तीव्र गतिमा बढिरहेको छ ।
यो चिन्ताजनक अवस्था हो । तर मलाई लाग्छ, अझ बढी चिन्ताको अवस्था हामीसँग विद्यमान छ । त्यो भनेको के हो भने विदेशमा काम गर्न स्वीकृति लिनेमध्ये १ लाख ४५ हजार अदक्ष र ५ लाख ३२ हजार सामान्य सीप भएका छन् । यस्ता सीपविहीन वा सामान्य सीप भएका कामदारले पाउने तलब वा सुविधा ज्यादै कम हुने गरेको छ । उनीहरुले गर्ने काम पनि सहज हुँदैन ।
सात लाखभन्दा बढी नेपाली विदेशमा रोजगारी गर्न गएकोमा जम्मा ७३२ उच्च सीप भएका र २ हजार ७ सय ७२ प्रोफेसनल छन् । वैदेशिक रोजगारीमा रहेको एक नेपालीले एक वर्षमा पठाउने रेमिट्यान्सको रकमभन्दा फिलिपिन्सको व्यक्तिले झन्डै चार गुणा बढी भित्र्याउने गरेको तथ्यांकले देखाउँछ ।
यी तथ्यांकले पनि यहाँ सीप विकासको आवश्यकता कति ठूलो रहेछ भन्ने प्रस्ट पार्छ । स्वदेशमा रोजगार वा स्वरोजगार हुन नचाहेर विदेशै जान चाहे पनि सीप छ भने राम्रो काम र उच्च ज्याला वा तलब पाइने अवस्था रहन्छ । अहिले देशले प्राप्त गरेको रेमिट्यान्सको परिमाणमा पनि यसले सकारात्मक प्रभाव पार्नेछ ।
यस्ता कुरामा हस्तक्षेप गरी युवाहरुलाई सीपले सुसज्जित गर्ने हाम्रो लक्ष्य हो । सीपसहित मात्र नेपालीलाई आन्तरिक रोजगारी तथा वैदेशिक रोजगारीमा संलग्न हुने कानुनी प्रबन्ध गरेमा काठमाडौँ टेक्निकल स्कुल जस्ता प्राविधिक सीप दिने थप विद्यालय देशभर खुल्ने अवस्था बन्छ ।
जसरी प्राज्ञिक ज्ञानको तहगत सर्टिफिकेट हुन्छ । त्यसैगरी, प्राविधिक ज्ञान, सीपको पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता हुने गरी सीप परीक्षणमार्फत प्रमाणीकरण गर्न सकियो र निजी क्षेत्रले आन्तरिक रोजगारीमा जनशक्ति लिँदा उक्त प्रमाणपत्रलाई आधार मान्ने र वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई पनि उक्त प्रमाणपत्रले दक्षताअनुसारको काम पाउने सुनिश्चितता हुन्छ ।
हो, रोजगारीका सबै क्षेत्रमा स्किल सर्टिफिकेट एकैपटक अनिवार्य गर्न सकिँदैन । तर, कुनै-कुनै निश्चित रोजगारीका क्षेत्र जस्तै हस्पिटालिटी र निर्माण क्षेत्रबाट तुरुन्तै सुरुवात गर्न सकिन्छ । वैदेशिक रोजगारीबाट फर्किएका नेपाली युवाको पनि सीप परीक्षण गरी सर्टिफिकेट दिने व्यवस्था गर्न सके त्यस सर्टिफिकेटले देशभित्रै सीपअनुसारको रोजगारी खोज्ने वा स्वरोजगार बन्ने पाटो खुल्नेछ ।
केटीएसको माध्यमबाट हामीले युवालाई विश्वस्तरीय तालिम तथा शिक्षा प्रदान गर्ने लक्ष्य राखेका छौं, जसले उनीहरुलाई केवल विदेशमा रोजगारीका लागि तयार गर्नेमात्र होइन, नेपालभित्रै विभिन्न अवसर सिर्जना गर्नेछ ।
सीपले युक्त कुशल व्यक्तिहरुले मात्र आफ्नै व्यवसाय स्थापना र सञ्चालन गर्न सक्छन् । स्थानीय अर्थतन्त्रको विकासमा योगदान दिन सक्छन् । राष्ट्रिय विकासलाई गति दिन सक्छन् । जब युवाहरु नेपालमै रहन्छन्, तब त्यसले परिवार, समाज र समुदायको विकासमा सकारात्मक प्रभाव पार्नेछ । साथै, राष्ट्रिय पहिचानलाई मजबुत बनाउनेछ ।
आर्थिक अवस्था राम्रो भएको परिवारको स्वास्थ्य र शिक्षा पनि राम्रो हुन्छ । त्यसले समाजमै खुसियाली सिर्जना गर्छ । त्यसैले, केटीएसले कर्मचारीमात्र होइन, उद्यमी सिर्जना गर्ने लक्ष्य लिएको छ । आतिथ्य, प्राविधिक सेवा र एज केयरजस्ता उच्च माग भएका उद्योगमा केन्द्रित पाठ्यक्रमको सहयोगमा हामीले हाम्रा ग्रयाजुएटहरुलाई उच्च आय दिने दीर्घकालीन करियरका लागि तयार गरिरहेका छौं ।
उनीहरुलाई विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्षम बनाउन केटीएसले स्थानीय तथा राष्ट्रियस्तरका उद्योग व्यवसायका साथै अन्तर्राष्ट्रिय साझेदारहरुसँग सहकार्य गर्ने नीति लिएको छ । आफ्नो क्षेत्रमा सफल बनेका व्यक्तिले यहाँ ज्ञान बाँड्नेछन् । यहाँको पाठ्यक्रम अहिलेको समयको बजारको मागलाई सम्बोधन गर्ने गरी तयार गरिएको पनि म जानकारी गराउन चाहन्छु ।
अन्त्यमा, शिक्षा प्रगतिको आधार हो भने प्राविधिक शिक्षा आर्थिक र सामाजिक परिवर्तनको इन्जिन हो । काठमाडौं टेक्निकल स्कुल त्यही परिवर्तनको संवाहक बन्न चाहन्छ ।
(काठमाडौं टेक्निकल स्कुल (केटीएस)को उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको मन्तव्य ।)
Copyright © Nepal Profit - 2025 / Developed By Webtech Nepal