काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्लोबल मनि विक २०२५ को सेरोफेरोमा विद्यार्थी तथा युवालक्षित वित्तीय साक्षरता कार्यक्रम सप्ताहव्यापी रुपमा सञ्चालन गरेको छ । बैंकले युवा तथा विद्यार्थीलक्षित वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रम सातवटै प्रदेशहरुमा सञ्चालन गरेको हो ।
बैंकले आयोजना गरेका विभिन्न कार्यक्रममा ६ हजारभन्दा बढी विद्यार्थी तथा युवायुवतीले सहभागिता जनाएका छ । साथै, नेपाल राष्ट्र बैंक तथा अन्य संस्थाहरुले आयोजना गरेको कार्यक्रममा समेत ग्लोबल आइएमई बैंकका कर्मचारीहरु वित्तीय सचेतना अभिवृद्धि ब्यानरसहित सहभागी भएका छन् ।
ग्लोबल आइएमई बैंकले ३५५ वटै शाखामार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखेको छ । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुबारे जानकारी गराइएको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुबाट फरक–फरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवा प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायतका देशबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।