काठमाडौं । माछापुच्छ्रे क्यापिटलले ग्लोबल मनि विक-२०२५ को अवसरमा काठमाडौंको मीनभवनमा रहेको नेपाल कमर्स क्याम्पसमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम गरेको छ । माछापुच्छ्रे क्यापिटलले आइतबार क्याम्पसका स्नातक तह (बीबीएस) संकायतर्फका विद्यार्थीलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
ग्लोबल मनि विक २०२५ को ‘थिंक विफोर यु फलो, वाइज मनि टुमरो’ भन्ने स्लोगनलाई आत्मसात् गर्दै वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको क्यापिटलले जनाएको छ । कार्यक्रममा स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई सेयर बजार, डिम्याट, आईपीओ, बैंकिङ प्रणाली, सेयर कर्जाको उचित व्यवस्थापन, दीर्घकालीन वित्तीय योजनालगायतका विषयवस्तुबारे जानकारी गराइएको छ ।
अभियानमार्फत माछापुच्छ्रे क्यापिटले युवालाई आर्थिक रूपमा सबल बनाउन, जिम्मेवार वित्तीय निर्णय लिन र समग्र वित्तीय स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको छ । माछापुच्छ्रे क्यापिटले यस्ता सचेतनामूलक कार्यक्रम निरन्तर रुपमा गरिरहेको छ ।
माछापुच्छ्रे क्यापिटल माछापुच्छ्रे बैंकको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी माछापुच्छ्रे क्यापिटलले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य र सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।