• Menu

ग्लोबल आइएमई बैंक : अब्बल नेतृत्व, सबल र सक्षम कर्मचारी पंक्ति

नेपाल प्रफिट

२०८१ चैत ११, १२:१४

ग्लोबल आइएमई बैंक : अब्बल नेतृत्व, सबल र सक्षम कर्मचारी पंक्ति

काठमाडौं । वित्तीय क्षेत्रकै ‘लेजेन्ड’ मानिने रत्नराज बज्राचार्यपछि नेपालकै ठूलो शाखा सञ्जाल भएको वाणिज्य बैंक ग्लोबल आईएमईको नेतृत्व यतिबेला सुरेन्द्रराज रेग्मीले गरिरहेका छन् । २०८१ भदौ १ पछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका उनले पाँच महिना नबित्दै एक प्रकारको तनाव झेल्नुपर्‍यो । पाथीभरा केबलकारमा जोडेर बैंकलाई विवादित बनाउने भरमग्दुर प्रयास भयो ।

अराजक व्यक्ति र समूहबाट पाथीभरा केबलकार विवादमा मुछेर ५० लाखभन्दा बढी बैंकका ग्राहकको मनमा आशंकाको बीउ रोप्ने चेष्टा भयो । बैंकमाथि अनेकन् आक्षेप लगाइए । तर पनि बैंकको संस्थागत सुशासन र बलियो नेतृत्वपंक्तिका कारण सेवाग्राहीको विश्वास कत्ति डगमगाएन ।

संस्थागत सुशासन कमजोर हुँदा त्यसको केही महिना अघिमात्र एक वाणिज्य बैंकबाट निक्षेपकर्ताले ४३ अर्ब रुपैयाँ रातारात फिर्ता लगेको दृष्टान्त ताजै थियो । कतै ग्लोबल आइएमई बैंक पनि दुष्प्रचारको सिकार हुने त होइन भन्ने आशंकाबीच कुनै क्षति भएन ।

बरु ग्लोबल आइएमईका सूचकहरु थप बलियो देखिएका छन् । बैंकमा वचतकर्ताको विश्वासमा आँच आएको छैन । कर्जा लिन पनि उद्योगी व्यवसायीलाई सहज नै छ भन्ने २०८१ फागुनसम्मको तथ्यांकले देखाउँछ ।

पुँजीमात्र होइन, निक्षेप संकलन, कर्जा प्रवाह, ग्राहक संख्या आदिका हिसाबले पनि ग्लोबल आइएमई बैंक नेपालको सबैभन्दा ठूलो बैंक हो । फागुन मसान्तसम्ममा ५ खर्ब ३३ अर्ब २३ करोड निक्षेप संकलन गरेको बैंकले ४ खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७७.९५ प्रतिशत छ । अझै पनि बैंकको कर्जा प्रवाह गर्ने क्षमता उच्च छ ।

२०८१ असार मसान्तसम्म बैंकको निक्षेप संकलन ५ खर्ब १२ अर्ब ७० करोड रुपैयाँ थियो । त्यसयताका आठ महिनामा वाणिज्य बैंकहरुमा २ खर्ब ८२ अर्ब २७ करोड संकलन हुँदा ग्लोबल आइएमई एक्लैले २८ अर्ब ३४ करोड रुपैयाँ थप्यो । सबैभन्दा बढी निक्षेप संकलन गर्ने ५ वाणिज्य बैंकमा ग्लोबल आइएमई पनि परेको छ । बैंकमा फागुनमा मात्रै पनि ४ अर्ब ३ करोड निक्षेप थपिएको छ ।

त्यस्तै २०८१ असार मसान्तदेखि फागुन मसान्तसम्ममा बैंकको कर्जा प्रवाह ३ खर्ब ९० अर्ब ७७ करोडबाट ३९ अर्ब ६ करोड रुपैयाँले बढेर ४ खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा ग्लोबल आइएमईले सबैभन्दा बढी कर्जा प्रवाह गरेको छ । आठ महिनामा वाणिज्य बैंकहरुले २ खर्ब ७९ अर्ब ६८ करोड कर्जा प्रवाह गर्दा ग्लोबल आइएमई एक्लैले ३९ अर्बभन्दा बढी प्रवाह गरेको हो ।

अरु वाणिज्य बैंकको तुलनामा ग्लोबल आइएमईको निक्षेप संकलन र कर्जा प्रवाहको स्थिति निकै बलियो छ । बैंकमा निक्षेपकर्ताको संख्या ५० लाखभन्दा बढी छ भने कर्जाका ग्राहक ८० हजारभन्दा धेरै छन् ।

अन्तर्राष्ट्रिय करेस्पोन्डेन्ट बैंक संख्या १४२, क्यूआर टर्मिनल संख्या ६३ हजारभन्दा बढी, क्रेडिट कार्ड होल्डर १८ हजारभन्दा बढी, डेबिट कार्ड होल्डर १० लाखभन्दा बढी, पोस टर्मिनल संख्या १८ सयभन्दा धेरै र मोबाइल बैंकिङ प्रयोगकर्ता २२ लाखभन्दा बढी छन् ।

हाल व्यवस्थापन समूहको नेतृत्व गरिरहेका रेग्मी तीन दशकभन्दा लामो समयदेखि बैंकिङ क्षेत्रमा छन् । उनी २०६५ सालमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका हुन् ।

उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषय (एमए)मा र बेलायतको युनिभर्सिटी अफ वेल्सबाट व्यवस्थापनमा (एमबीए)  स्नातकोत्तर गरेका छन् । ग्लोबल आइएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापनलगायत समग्र बैंकिङको सुपरिवेक्षण तहमा काम गरेका उनी अब्बल बैंकरका रुपमा परिचित छन् ।

बैंकका माथिल्लोदेखि तल्लो तहसम्मका कर्मचारी अब्बल छन् । व्यवस्थापनतर्फका ‘सेकेन्ड म्यान’ डेपुटी सीईओ सुमन पोखरेल निखारिएका बैंकर हुन् । वित्तीय सेवा र भुक्तानीतर्फ उनको २० वर्ष लामो अनुभव छ । वित्तीय क्षेत्रमा प्रविधि (फिनटेक)को प्रयोग र बैंकिङ नवप्रवर्तनमा उनी विशेष रुचि राख्छन् ।

डेपुटी सीईओ सुमन पोखरेल ।

पोखरेलले बैंकको आईटी प्रणाली, डिजिटल बैंकिङ, ट्रान्जेक्सन बैंकिङ, डिजिटल इन्नोभेसन, रेमिट्यान्स र अन्तर्राष्ट्रिय शाखा कार्यालय, वित्तीय स्रोत व्यवस्थापन, साना तथा मझौला उद्यम ऋण एवं कर्जा प्रशासन विभाग सम्हालेका छन् ।

बैंकको व्यापार सम्बन्ध व्यवस्थापन र जोखिम व्यवस्थापनमा उनको भूमिका अग्रपंक्तिमा छ । आइएमई ग्रुपको वरिष्ठ उपाध्यक्ष, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को बोर्ड सदस्य, आइएमई लिमिटेडको सीईओ, स्मार्ट च्वाइस टेक्नोलोजिज प्रालि (एससीटी नेटवर्क) को अध्यक्ष तथा डिस मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको विगतको जिम्मेवारी उनको आत्मविश्वासको कडी हो ।

त्यस्तै निमित्त सीईओ एवं चिफ रिस्क एन्ड कम्प्लायन्स अफिसर विमल डागासँग तीन दशक लामो बैंकिङ अनुभव छ । निमित्त सीईओ एवं चिफ फाइनान्सियल अफिसर चन्द्रराज शर्मा सन् २००३ देखि बैंकिङ क्षेत्रमा छन् भने अर्का निमित्त सीईओ एवं चिफ बिजनेस अफिसर कल्याणविक्रम पाण्डे २० वर्षदेखि वित्तीय क्षेत्रमा आबद्ध छन् ।

उच्च व्यवस्थापन तहमा रहेका चिफ मनिटरिङ एन्ड गभर्नान्स अफिसर भवानी ढकाल, चिफ इन्टरनल अडिट बुद्धि अकेला र चिफ लेन्डिङ अफिसर तथा चिफ एचआर ओभरसाइट दीपचन्द्र रेग्मी पनि निखारिएका बैंकर हुन् । विभिन्न २१ वटा संस्थाबाट जोडिएका तीन हजार सात सयभन्दा बढी कर्मचारीबीच सौहार्द्र सम्बन्ध हुनुले ग्लोबल आइएमई बैंकले मानव संसाधन व्यवस्थापनमा पनि अब्बल कौशल प्रदर्शन गरिरहेको प्रस्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्