• Menu

ग्लोबल मनी विक - २०२५

सांग्रिला डेभलपमेन्ट बैंक टोखा शाखाद्वारा वित्तीय सचेतना कार्यक्रम आयोजना

नेपाल प्रफिट

२०८१ चैत ११, ११:५७

सांग्रिला डेभलपमेन्ट बैंक टोखा शाखाद्वारा वित्तीय सचेतना कार्यक्रम आयोजना

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक टोखा शाखा कार्यालयले वित्तीय सचेतना कार्यक्रम आयोजना गरेको छ । ग्लोबल मनी विकअन्तर्गत काठमाडौंको ठमेल गल्कोपाखामा रहेको एभरेस्ट हाइयर सेकेन्डरी स्कुल तथा एभरेस्ट मल्टिपल क्याम्पसमा बैंकले वित्तीय सचेतना कार्यक्रम आयोजना गरेको हो ।

‘ग्लोबल मनी विक – २०२५’ का अवसरमा आयोजित कार्यक्रम विद्यार्थीमा वित्तीय ज्ञान प्रदान गर्नुका साथै डिजिटल बैंकिङको महत्व बुझाउन केन्द्रित रहेको बैंकले जनाएको छ ।

कार्यक्रमको प्रशिक्षण बैंकका टोखा शाखा प्रमुख रामशरण श्रेष्ठ, प्रशंसा सापकोटा र अञ्जु पराजुलीले गरेका थिए । उक्त कार्यक्रममा ७० जनाभन्दा बढीको सहभागिता थियो ।

विद्यार्थीका लागि विशेष रूपमा डिजाइन गरिएको तालिममा बचत गर्ने बानी, लगानीका अवसर तथा डिजिटल बैंकिङ सेवाको उपयोगबारे जानकारी प्रदान गरिएको छ । सहभागीले कार्यक्रम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका छन् । वित्तीय प्रशिक्षणले आर्थिक निर्णय क्षमता सुधार्न मद्दत गरेको उनीहरुको विश्वास छ ।

चैत १० सम्म सञ्चालन हुने ग्लोबल मनी विकअन्तर्गत राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन् । ‘ग्लोबल मनी विक’ मूलतः किशोरकिशोरी तथा युवायुवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो ।

अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी)को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ । राष्ट्र बैंकको संयोजनमा सन् २०१३ देखि नेपालमा पनि यो अभियान सञ्चालन गरिँदै आइएको छ ।

अभियानबाट हालसम्म विश्वका १७६ भन्दा बढी मुलकका करिब ६ करोड बालबालिका, किशोरकिशोरी र युवा लाभान्वित भएको ओईसीडीले जनाएको छ । अभियानको स्थायी नारा ‘सिक, बचाउ, कमाउ’ (लर्न, सेभ, अर्न) रहेको छ ।

प्रतिक्रिया दिनुहोस्