काठमाडौं । एभरेष्ट बैंक र नेसनल बैंकिङ इन्स्टिच्युटले एभरेष्ट बैंकका कर्मचारीका लागि ट्रेनिङ निड एसेसमेन्ट गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । यो रणनीतिक सहकार्यको उद्देश्य कर्मचारीको क्षमता अभिवृद्धिमा सुधारको आवश्यकता पहिचान गर्नु र संगठनात्मक उत्कृष्टतालाई अगाडि बढाउन कर्मचारीको दक्षता बढाउनु भएको बैंकले जनाएको छ ।
कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले भने, ‘यो पहलले कन्टिनिअस प्रोफेसनल एजुकेसनमार्फत कर्मचारीको सीप विकासप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रस्ट्याउँछ, जसले हाम्रा कर्मचारीलाई बैंकिङ क्षेत्रमा विद्यमान चुनौतीको सामना गर्न र अपेक्षित परिणाम हासिल गर्न सक्षम बनाउनेछ ।’
कार्यक्रममा नेसनल बैंकिङ इन्स्टिच्युटका सीईओ कुमार लम्सालले राम्रोसँग सञ्चालित ट्रेनिङ निड एसेसमेन्टले उत्पादकत्व र सेवाको गुणस्तर बढाउन प्रभावकारी तालिम कार्यक्रम डिजाइन र सञ्चालन गर्न बलियो जग प्रदान गर्ने विश्वास व्यक्त गरे ।
यस साझेदारीमार्फत एभरेस्ट बैंकले कर्मचारीको सीपमा आवश्यक सुधारको मूल्यांकन र सम्बोधन गर्न योजनाबद्ध दृष्टिकोण अपनाउने लक्ष्य राखेको जनाएको छ । नेपालको बैंकिङ क्षेत्रमा दक्षता अभिवृद्धि गर्ने दुवै संस्थाको प्रतिबद्धतासँग मेल खान्छ ।