विचार
‘स्टार्टअप’ शब्द सुन्नासाथ धेरैको मनमा यसको परिभाषालाई लिएर प्रश्नहरु उब्जिन्छन् । नीति निर्माण तहमा रहनुभएका मानिसहरुले पनि स्टार्टअपलाई फरक ढंगले बुझेको पाइन्छ ।
के कुनै उद्यम व्यवसाय सुरु गर्नु नै स्टार्टअप हो त अथवा कुनै युवाले व्यवसाय सुरु गर्नु स्टार्टअप हो त ! कदापि होइन । सबै उद्यम व्यवसाय स्टार्टअप होइनन् । स्टार्टअप भनेको सानो तथा मझौला उद्यम पनि होइन । स्टार्टअप भन्नासाथ ‘नवीनता (इनोभेसन)’ र स्केलेबिलिटी भन्ने शब्द पनि सँगै जोडिएर आउँछ । उत्पादन, सेवा वा प्रक्रियाहरुको नवीनतालाई केन्द्रमा राखेर गरिने उद्यमशीलताचाहिँ स्टार्टअप हो ।
‘नवीनता (इनोभेसन)’ का साथै आकार वा साइजमा छिटोछिटो प्रगति गर्ने प्रकृतिको व्यवसाय (स्केलेबिलिटी) लाई स्टार्टअप भनिन्छ । अर्को कुरा स्टार्टअपका लागि कोही युवा हुन जरुरी छैन । कुनै पनि उमेर समूहको कुनै पनि व्यक्तिले सुरु गरेको उद्यम स्टार्टअप हुन सक्छ ।
एउटा ताजा उदाहरणका लागि हालैमात्र एक जना उद्यमीले परम्परागत तरिकाबाट बाहिर निस्किएर बाफ (स्टिम)बाट खुवा बनाउनुभएको छ । त्यसलाई स्टार्टअप भन्न सकिन्छ । त्यस्तो उद्यम व्यवसायलाई ठूलो बनाउन त्यस्तै प्रकारको स्रोत तथा साधन अथवा भनौँ बाह्य सहयोग पनि आवश्यक पर्न सक्छ ।
राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८० मा स्टार्टअपलाई यसरी परिभाषित गरिएको छ-
वस्तु, सेवा र प्रक्रियाको विकास, उत्पादन, सञ्चालन र वितरणमा नवीन अन्वेषण एवं सिर्जनशील सोचको प्रयोग गरी व्यवसायको रूपमा सञ्चालन भएका र स्तरोन्नतिको सम्भावना रहेका उद्यमलाई स्टार्टअप उद्यम भनिन्छ । स्टार्टअप उद्यमले सूचना प्रविधिको उपयोग एवं सिर्जनशील सोचको प्रयोग भएको उद्यम वा व्यवसाय समेतलाई जनाउँछ ।
स्टार्टअप उद्यमका देहायबमोजिमका विशेषता हुन्छन् :
१. उद्यम व्यवसाय दर्ता भई १० वर्ष ननाघेको,
२. प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्था उद्योगको रूपमा दर्ता गर्ने निकायमा दर्ता भएको,
३. स्थापना भएपछिको कुनै आर्थिक वर्षमा वार्षिक कारोबार १५ करोड ननाघेको,
४. विगतको उद्यम व्यवसायसँग नगाभिई वा नटुक्रिई नयाँ उद्यम व्यवसाय गरेको,
५. नवीन एवं सिर्जनशील सोचलाई उद्यम व्यवसायको रूपमा रूपान्तरण गरी तीव्र वृद्धिको सम्भावना भएको ।
सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत स्टार्टअपका लागि बिनाधितो ३ प्रतिशत ब्याजमा दिने गरी सय करोड रुपैयाँ विनियोजन गरेको छ । चालु आर्थिक वर्ष घोषणा गरेको ‘स्टार्टअप उद्यम कर्जा’को प्रारम्भिक सूचीमा परेका १ हजार ३१४ वटा व्यवसायमध्ये ५० प्रतिशतभन्दा बढी कृषितर्फका छन् ।
स्टार्टअप संस्कृति
स्टार्टअप भनेको नवीन सोचको संस्कृति पनि हो । मानिसलाई परम्परागतबाट सिर्जनात्मक उद्यमशीलतातर्फ जान अभिप्रेरित गर्ने आधार पनि हो । मानिसलाई सिर्जनशील बनाउने तथा कर्जा लिएर व्यवसाय गर्न र प्रतिफल लिन सकिन्छ भनेर विश्वस्त बनाउने माध्यम पनि हो ।
नेपालमा विगत दुई वर्षमा स्टार्टअप इकोसिस्टममा राम्रो प्रगति भएको छ । बजेटमा आठ वर्ष अघिदेखि घोषणा भइरहेको विषय कार्यान्वयनमा आएका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा २५ करोड रुपैयाँ कार्यान्वयनमा जाँदा राम्रो सन्देश गएको थियो । त्यही २५ करोड गएका कारण चालु बजेटमा सय करोड विनियोजन गरिएको हो ।
स्टार्टअपको नीति बन्यो । कानुनहरु बन्दैछन् । कार्यविधिहरु बन्दैछन् । कार्यान्वयनमा जाने चरणमा छ । सरकारी तहबाट स्टार्टअप शब्द प्रयोग भइरहेको छ । बजेटमा त्यो शब्द परेको छ । सरकारको नीति तथा कार्यक्रममा पनि स्टार्टअप उल्लेख गर्न थालिएको छ । यी सबै स्टार्टअप इकोसिस्टम निर्माणको लागि राम्रो मान्नुपर्छ ।
इकोसिस्टमका सबै काम एकैपटक हुन सक्दैनन् । विभिन्न चरणमा विभिन्न काम भइरहेका छन् । कतै स्टार्टअपका बारेमा बुझ्न, बुझाउन प्रयास भइरहेको छ । कर्जा प्राप्तिका लागि व्यवसायमा नवीनता र सिर्जनशीलता खोज्ने काम भइरहेको छ । इन्क्युबेसन सेन्टरहरु खोलिएका छन् । निजी क्षेत्रबाट काठमाडौंलगायत देशका ठूला सहरमा विभिन्न कार्यक्रमहरु गरिरहेका छन् । यसरी सरकारसहित निजी क्षेत्रका विभिन्न संघसंस्थाले स्टार्टअप इकोसिस्टम निर्माणमा विभिन्न खालका योगदान दिइरहेका छन् ।
अन्तर्राष्ट्रिय अभ्यास र हाम्रो प्रयास
अमेरिका, चीन, जापान, कोरियालगायतका देश स्टार्टअपमा धेरै नै अगाडि छन् । ती देशको स्टार्टअप इकोसिस्टम एकदमै बलियो छ । भारतले स्टार्टअपमा एक दशकको अवधिमा राम्रो गरिसकेको छ । त्यसकारण सिक्न र अभ्यास गर्नका लागि हामी सुविधाजनक अवस्थामा छौँ । हाम्रा लागि नजिकका छिमेकी देश चीन र भारतको अभ्यास पर्याप्त हुन्छ ।
सन् २०१६ ताका भारतको स्टार्टअपको अवस्था अहिलेको हाम्रो जस्तै थियो । भारतमा प्रधानमन्त्री स्तरबाटै त्यसलाई अघि बढाउने काम भयो । कुनै पनि कामका लागि अन्तरमन्त्रालय र अन्तरनिकायगत समन्वय धेरै नै महत्वपूर्ण हुन्छ । प्रधानमन्त्री कार्यालयले नै अग्रसरता लिएपछि समन्वयमा सहजता भयो । सबैले त्यसलाई प्राथमिकतामा राखेर आवश्यक सहजीकरण गरे । स्टार्टअप उद्यमलाई सहज हुनेगरी कानुनी व्यवस्था मिलाइयो । ऐन कानुनहरु परिमार्जन गरियो । स्टार्टअपका विभिन्न चरणका लागि अनुदान कार्यक्रमहरु सञ्चालन गरिए । बिजनेस सपोर्ट कार्यक्रमहरु भए । फलतः स्टार्टअप इकोसिस्टममा भारतले ठूलो फड्को मार्न सक्यो ।
विदेशमा क्याम्पस तहबाटै इन्क्युबेसन सेन्टरहरु सुरु हुन्छन् । इन्क्युबेसन सेन्टरहरुमा गरिएको प्रयोगात्मकका आधारमा नवीन सोचलाई कर्जा दिने प्रावधान छ । नवीन सोचलाई सरकारी अनुदान र प्रोत्साहन रकम (इन्सेन्टिभ) पनि दिइन्छ । कतिपय इन्क्युबेसन सेन्टरमार्फत आवेदन दिनेहरु कतै न कतै उद्यमशीलतामा जोडिएका हुन्छन् ।
नेपालमा पनि अहिले विश्वविद्यालय अनुदान आयोग (यूजीसी)ले विभिन्न क्याम्पसहरुमा इन्क्युबेसन सेन्टरहरु खोल्ने काम गरिरहेको छ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सातै प्रदेशमा इन्क्युबेसन सेन्टर खोल्ने घोषणा गरेको छ । प्रयोगात्मक अभ्यासमार्फत वस्तु तथा सेवा उत्पादनमा अभिप्रेरित गर्दै उद्यमशीलता र व्यावसायिक विकासतर्फ डोहोर्याउन यस्ता इन्क्युबेसन सेन्टरहरु निकै प्रभावकारी हुन्छन् ।
नीति नआउँदासम्म, परिभाषित नहुँदासम्म जसले स्टार्टअपमा काम गरिरहेको थियो, उनीहरुलाई मात्र स्टार्टअपको बारेमा जानकारी थियो । जब राष्ट्रिय स्टार्टअप उद्यम नीति आयो, स्टार्टअप कोष खडा गरेर सय करोड बजेट विनियोजन गरियो, स्टार्टअप उद्यमीलाई सहजीकरण र नियमन गर्न स्टार्टअप बोर्ड गठन गर्ने घोषणा भयो, इन्क्युबेसन सेन्टरहरु खुल्न थाले । यी सबै गतिविधिले स्टार्टअपलाई धेरैभन्दा धेरै मानिससँग परिचित गराएको छ । यसको अर्थ हामी सही ट्रयाकमा छौँ ।
स्टार्टअप सचेतना
स्टार्टअप संस्कृतिलाई बढावा दिन हाल निकै प्रयासहरु भइरहेका छन् । विगतमा निजी क्षेत्रबाट मात्र स्टार्टअप उद्यमशीलता प्रवर्धनको काम भइरहेकोमा अहिले सरकारले पनि अग्रसरता लिएको छ । विश्वविद्यालय र निजी क्षेत्रबाहेक सरकारले सातै प्रदेशमा इन्क्युबेन सेन्टर खोल्ने घोषणा गरेको छ । राष्ट्रिय स्टार्टअप उद्यम नीति निर्माण भइसकेको छ । बजेटमार्फत स्टार्टअप बोर्ड गठनको घोषणा भएको छ । स्टार्टअप कोष स्थापना भएको छ । स्थानीय सरकारहरुबाट पनि विभिन्न कार्यक्रम गरिएका छन् । निजी क्षेत्रबाट विभिन्न कार्यक्रम भई नै रहेका छन् ।
यी सबै गतिविधिले उद्यम व्यवसाय सुरु गर्नु नै स्टार्टअप हो भन्ने सामान्य बुझाइमा पनि स्पष्टता ल्याइरहेको छ । यसले उद्यम गर्न खोज्नेलाई परम्परागत शैलीबाट माथि उठेर नयाँ ढंगले सोच्न र सिर्जनशील बन्न प्रेरित गर्छ र त्यो नवीन सोचसहितको उद्यमशीलता नै भोलि विशाल उद्यमी बन्ने आधारशिला बन्छ र ‘युनिकर्न उद्यमी’ (एक अर्ब डलरभन्दा माथि कुल मूल्य भएको स्टार्टअप) बन्ने दिशामा अग्रसर हुन्छ ।
नवीन सोचका साथ काम गरिरहेका उद्यमीमा स्टार्टअपको भ्यालु बुझाउन सकियो, उसलाई आर्थिक रुपमा सहयोग गरियो, इन्क्युबेसन सेन्टरसम्म ल्याउन सकियो, उसको सोचलाई थप परिष्कृत बनाउन सकियो र अरु खालका प्राविधिक सहयोग गर्न सकियो भने ऊ भोलि गएर ‘युनिकर्न उद्यमी’ बन्न सक्छ । नीति र लगानीसँगै सरकार र निजी क्षेत्रको थप प्रयास यसतर्फ हुन जरुरी छ ।
विगतमा स्टार्टअपको चर्चा गर्दा अमेरिकाको ‘सिलिकन भ्याली’ मात्र सम्झिइन्थ्यो, स्टार्टअपका लागि यस्ता एकाध ठाउँहरुमा चिनिन्थे । त्यहाँ धेरै प्राइभेट इक्विटी भेन्चर क्यापिटलिस्ट (पीईभीसी)हरु आए, उनीहरुको लक्ष्य स्टार्टअपमा लगानी गर्ने थियो । पीईभीसीकै कारण स्टार्टअप उद्यमशीलताले फस्टाउने मौका पायो ।
हामीकहाँ पनि पीईभीसीहरु खुलेका छन् । उनीहरुले लगानीसँगै नवीन सोचलाई बढावा दिन सहयोग गर्ने काम पनि गरिरहेका छन् । तर, उनीहरुले मात्र गरेर पुग्दैन । स्टार्टअप उद्यमीहरु आफ्नो उद्यमका लागि प्रस्ताव लिएर पीईभीसीसम्म पुग्नुपर्छ र लगानी पाउन सक्षम पनि हुनु पर्छ । उनीहरुलाई त्यहाँसम्म पु¥याउने भूमिका फेरि निजी क्षेत्र र सरकारी तवरबाट हुने कार्यक्रमहरु नै हुन् । स्टार्टअप मार्केट देशभित्र सीमित हुँदैन, अन्तर्राष्ट्रिय बजारसम्म पुग्न सक्छ, देशभित्र र बाहिरबाट पनि ठूलो लगानी भित्रिन सक्छ भन्ने जस्ता कुरा उद्यमीलाई थाहा दिने दायित्व उनीहरुको हो ।
नेपालमा कुन क्षेत्रका स्टार्टअपहरु सफल भएका छन् भन्ने कुराको यकिन तथ्यांक छैन । जुनसुकै क्षेत्रमा पनि नवीन सोचका साथ सिर्जनशील भएर उद्यम गरेको खण्डमा सफल हुन सकिन्छ । भारत र चीन जस्ता विश्वमै सबैभन्दा धेरै जनसंख्या भएका मुलुक हामीसँग जोडिएका छन्, हाम्रो लागि बजार त्यँहा लक्षित हुन जरुरी छ । त्यसकारण क्षेत्रभन्दा पनि सोच महत्वपूर्ण कुरा हो । नवीन सोच (इनोभेसन) जुनसुकै क्षेत्रमा आउन सक्छ । त्यसका लागि उद्यमशील बन्ने दृढता हुनुपर्छ । नयाँ ढंगले उद्यमशीलता गर्छु र उद्यम क्षेत्रमा स्थापित हुन्छु भन्ने अठोट हुनुपर्छ ।
(नेपाल उद्योग वाणिज्य महासंघ, स्टार्टअप एन्ड इनोभेसन फोरम सभापति, जुना माथेमाको यो लेख इमान जर्नल २०८१ बाट लिइएको हो ।)
Copyright © Nepal Profit - 2025 / Developed By Webtech Nepal